काठमाडौं । भारतको बेङ्लुरुमा नेपाली युवती महालक्ष्मीको क्रूर हत्याको आरोप लागेका एक व्यक्ति मृत भेटिएका छन् । मुक्ति रञ्जन राय नाम गरेका ती व्यक्ति भारतको उडिसामा मृत भेटिएका हुन् । उनले आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
भारतीय प्रहरीले ती व्यक्तिको सुसाइड नोट फेला पारेको छ । जसमा उनले नेपाली युवती महालक्ष्मीको हत्या गरेको स्वीकार गरेका छन् । साथै उनले महालक्ष्मीको हत्या गरेर गलत गरेको पनि आफ्नो सुसाइड नोटमा उल्लेख गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार भारतको बेङ्लुरुस्थित एक भाडाको कोठामा नेपाली युवती महालक्ष्मीको शव ३० देखि ४० टुक्रा पारिएको अवस्थामा फेला परेको थियो । निकै अमानवीय र क्रूर ढंगले महालक्ष्मीको हत्या भएको घटना विवरणहरूले देखाएका छन् ।
भारतीय सञ्चारमाध्यहरूका अनुसार बेङ्लुरुको तीन तले भवनको एक कोठामा रहेको फ्रिजमा १९ दिनसम्म एक २९ वर्षीया युवतीको शव ३० देखि ४० टुक्रा पारेर राखिएको प्रहरीले फेला पारेको छ । सो कोठाबाट गन्ध आउन थालेपछि घरमालिकले प्रहरी र युवतीकी आमालाई खबर गरेका थिए ।
त्यसपछि घटनास्थलमा पुगेको प्रहरी क्राइम सिन देखेर अत्तालियो । किनकि प्रहरीले यसअघि यस्तो क्राइम सिन देखेकै थिएन । प्रहरी पहिलोपटकमा कोठामा प्रवेश नै गर्न सकेन । किनकि गन्ध निकै आइरहेको थियो ।
डब्बल मास्क लगाएर कोठामा पुगेको प्रहरीले फ्रिज र फ्रिजबाहिर शवका टुक्राहरू देख्यो । र, उसले फरेन्सिकको टोलीलाई बोलायो । तर, फरेन्सिकको टोलीले पनि शव संकलन गर्न नसकी अस्पतालको मुर्दाघरका कर्मचारीलाई बोलाएको भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।
डडेल्धुराबाट भारत गएको थियो महालक्ष्मीको परिवार
महालक्ष्मीको पुर्खेउली घर भनेको डडेल्धुरा भएको उनका भाई हुकुमसिंह रानाले बताए । उनी आलिताल गाउँपालिका वडा नम्बर ४ लामजिल्ले घर भएका करनसिंह रानाकी कान्छी छोरी हुन् । हुकुमका अनुसार उनको परिवार ६० वर्षदेखि भारतमा बस्दै आएको छ ।
सानैमा महालक्ष्मीका बुवा करनसिंह राना रोजगारीका लागि भारत गएको बुझिएको छ । उनले डडेल्धुराबाटै विवाह गरेर भारतको बेङलुरुमा बस्दै आएको आलिताल गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष कमलसिंह बोहराले बताए । उनको नेपालको थर भने कामी हो ।
महालक्ष्मीको जन्म भने भारतमै भएको हो ।
