डोटीमा । डोटीमा आमाको किरिया (कोरा) बसेका एक युवक बलात्कार आरोपमा पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार आदर्श गाउँपालिका–६ का ३८ वर्षीय लाल रैकाल बलात्कार आरोपमा पक्राउ परेका हुन् ।
भदौ अन्तिम साता सोही ठाउँकी २० वर्षीया युवतीको घाँटी थिचेर जबरजस्ती करणी गरेको जाहेरी परेपछि आरोपीलाई कोराबाटै नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय डोटीका डीएसपी भीमलाल भट्टराईले जानकारी दिए ।
बलात्कारपछि युवतीसँग भएको ३० हजार रुपैयाँ समेत उनले लुटेको जाहेरीमा उल्लेख छ । घटनापछि रैकाल फरार भएका थिए ।
शनिबार राति उनकी आमाको निधन भएपछि उनी गाउँ फर्किएका थिए । आइतबार आमाको दाहसंस्कार गरेर घरमै किरिया बसिरहेको बेला प्रहरीले बलात्कार आरोपी रैकाललाई नियन्त्रणमा लिएको हो ।
‘हिजो राति जिल्ला सदरमुकाम पुर्याएका छौं । आज म्याद थपका लागि अदालत पेश गरिन्छ, आरोपीलाई हिरासतमा राखेर घटनाको विस्तृत अनुसन्धान हुनेछ’, डीएसपी भट्टराईले भने ।
