दाङ । तुलसीपुर नगर जेसिजले इलाका प्रहरी कार्यालय तुलसीपुरलाई पुस्तक हस्तान्तरण गरेको छ । इलाका प्रहरी कार्यालयमा रहेका थुनुवाहरूको लागि जीवन बदल्ने उत्प्रेरणादायी पुस्तक हस्तान्तरण गरिएको हो ।
मानिसको जीवनमा नकारात्मक सोचहरू हावी हुन नदिन तथा सकारात्मक सन्देश दिन जीवनोपयोगी पुस्तक हस्तान्तरण गरिएको तुलसीपुर नगर जेसिजका अध्यक्ष पूर्णविक्रम डाँगीले बताए ।
उनले भने, ‘मानिसलाई सकारात्मक बाटो देखाउने ज्ञानको भण्डार पुस्तकालयको माध्यमबाट जीवन परिवर्तन गर्न सकिन्छ । यसर्थ नागरिकलाई जिम्मेवार बनाउन किताबको महत्व धेरै रहेको छ ।’
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी ठाकुर प्रसाद पोखरेलले तुलसीपुर नगर जेसिजले सामाजिक उत्तरदायित्वको वहन गर्दै उत्प्रेक्षक किताबहरू प्रदान गरेकोमा धन्यबाद व्यक्त गरे।
थुनुवाहरूको लागि मात्र होइन सबै जनाले पुस्तकालयबाट पढ्न पाउने उनको भनाइ छ ।
तुलसीपुर नगर जेसिज वर्ष २०२३ द्धारा निर्मित पुस्तकालय गत वर्ष ६० थान पुस्तक हस्तान्तरण गरिएको थियो, भने अहिले ९० थान पुस्तक उपलब्ध गराइएको तुलसीपुर नगर जेसिजका महासचिव कमल प्रकाश शर्माले जानकारी दिए ।
