काठमाडौं । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले रहस्यमय हत्याको सफल अनुसन्धान गरेको भन्दै कैलालीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक (एसपी) पदमबहादुर बिष्टसहितका चारजना प्रहरीलाई पुरस्कृत गरेको छ ।
डडेल्धुराको अमरगढी नगरपालिका–२ घर भएर धनगढी बस्दै आएकी ३१ वर्षीया बिमा थापामगर मृत भेटिएको घटनाको सफल अनुसन्धान गरेको भन्दै एसपी बिष्टसहितका चार जना प्रहरीलाई पुरस्कृत गरिएको हो ।
एसपी बिष्टलाई प्रदेश प्रहरी कार्यालयले रेकर्डमा जनिने गरि नगदसहित सम्मान गरेको हो भने अन्य तीन जनालाई जिल्ला प्रहरी कार्यालयले नगदसहित रेकर्डमा जनिने गरी पुरस्कृत गरेको हो ।
बिष्टले उपलब्ध स्रोत साधनको उचित प्रयोग गरि एक वर्षदेखि रहस्यमा रहेको युवती मृत्युको घटनाको अनुसन्धान गरेर निष्कर्षमा पुर्याएकाले प्रहरी नियमावलीअनुसार पुरस्कृत गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
यस्तै, जिल्ला प्रहरी कार्यालयले पनि सोही घटनाको अनुसन्धानमा संलग्न प्रहरी नायब निरीक्षक गजेन्द्रबहादुर चन्द, प्रहरी सहायक हवल्दारद्धय महेश चन्द र सन्तोश महरालाई नगदसहित पुरस्कृत गरेको हो ।
