काठमाडौं । गृह मन्त्रालयले कर्णाली प्रदेशमा प्रहरी नायब महानिरीक्षक (डिआइजी) जनक भट्टराईलाई खटाएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका डिआइजी अर्जुन चन्द ठकुरी विवादमा तानिएपछि भट्टराईलाई खटाएको हो ।
केही समयअघि स्कुपखबरले ‘उदण्ड डिआईजी : रक्सी खाएर कार्यालयबाट भागे, अनि चढे रात्रीबस‘ शीर्षकमा समाचार सम्प्रेषण गरेको थियो । समाचारपछि चन्द १ हप्ताको विदा बसेका थिए ।
जुन विषयलाई प्रहरी महानिरीक्षक (आइजीपी) वसन्त कुवरले चासो राखेका थिए । जुनकुरा गृहमन्त्री रमेश लेखकले चासो व्यक्त गर्दै चन्दलाई तत्कालै कर्णाली प्रदेशबाट तान्न आइजीपी कुवरलाई निर्देशन दिएका थिए ।
गत मंगलबार डिआइजी चन्दरक्सी खाएर होहल्ला गर्दै कार्यालयबाट भागेको समाचारमा उल्लेख थियो । कार्यालयबाट भागेपछि उनी काठमाडौं जान्छु भन्दै रात्रीबस चढेको स्रोतको दाबी छ । उनी सुर्खेत देउती प्रा.लि.को क.प्र. ५७२९ नम्बरको सुर्खेत काठमाडौं रात्रीबस चढेका थिए ।
रक्सीको नसामा काठमाडौं जान लागेको थाहा पाउनासाथ उनलाई सुब्बाकुना चोकबाट फर्काइएको छ । कार्यालयका प्रहरी उपरीक्षक (एसपी) विनोद शर्माको टोलीले बसबाटै फिर्ता ल्याएका हुन् । कार्यालय ल्याउनासाथ उनले धमाधम प्रहरी जवान तथा हवल्दारहरुको काज सरुवा समेत निकालेको बताइन्छ ।
लगत्तै गुनासो प्रहरी महानिरीक्षक (आइजीपी) वसन्त कुवरसमक्ष पुगेको हो । त्यसपछि आइजीपी कुवरले उनलाई तत्काल परिवर्तन गर्न लागिपरेका थिए ।
