काठमाडौं । जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासत कक्षबाट ९ जना थुनुवा फरार भएका छन् । प्रहरी हिरासतबाट मंगलाबार बिहान भेन्टिलेसन तोडेर ९ जना थुनुवा फरार भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको हो ।
फरार हुने थुनुवाहरूमा जनकपुर उपमहानगरपालिका- २० निवासी अमितकुमार झा, धनुषा साबिक गिद्धा नगरपालिका-७ का रंजित मण्डल र रोशनकुमार मण्डल तथा सिरहा नगरपालिका-१३ निवासी अभास्कर यादव रहेको प्रहरीले जानकारी दिएको छ ।
यसैगरी धनुषाकै औरही गाउँपालिका-२ निवासी विशाल मुखिया, जनकपुर उपमहानगरपालिका-१ निवासी सुमित मेस्तर, धनुषा नगराइन नगरपालका- २ निवासी मनिष मण्डल र जनकपुर उपमहानगरपालिका-४ निवासी बिक्की कार्की प्रहरी थुनुवा कक्षबाट फरार भएका हुन् ।
फरार भएकाहरूमध्ये ५ जना लागु औषध मुद्दाका थुनुवा रहेका छन् भने ३ जना अभद्र व्यवहार मुद्दाका आरोपित रहेको धनुषा प्रहरीले जानकारी दिएको छ । फरार भएकाहरू मध्येबाट सत्यम झालाई प्रहरी पक्राउ गरेको छ ।
अन्य फरारहरूको खोजीकार्य भने जारी रहेको प्रहरी उपरीक्षक (एसपी) भुवनेश्वर तिवारीले बताए । उनीहरुको खोजीकार्यको लागि एसपी तिवारीको कमाण्डमा ४५ जना सादा पोसाकको समेत टोली र मातहतका प्रहरी युनिटका टोलीहरु परिचालन गरिएको छ ।
धनुषा प्रहरी हिरासत कक्षको मंगलबार बिहानसम्म सुरक्षा दिनका लागि ५ जना प्रहरीहरू ड्यूटीमा परिचालित थिए ।
