काठमाडौं । गोरखामा शृंखलाबद्ध रूपमा सुनका गहना लुटेको आरोपमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा गोरखाको शहिद लखन गाउँपलिका–९ नाम्जुङका ३८ बर्षीय सुनिल बिक र ललितपुर उपमहानगरपालिका–१६ का ३७ बर्षीय शैलेश ताम्राकार रहेका छन् ।
शनिबार गोरखा नगरपालिकाको लक्ष्मीबजारबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरीक्षक (एसपी) बासुदेव पाठकले बताए ।
सुनका गहना लुटपाटको घटनामा उनीहरु संलग्न रहेको अनुसन्धानबाट खुल्न आएको छ । उनीहरुको साथबाट लुटपाट गर्दा प्रयोग भएको कपडा र स्कुटर समेत बरामद गरिएको एसपी पाठकले बताए ।
उनीहरु विरुद्ध प्रहरीले चोरी सम्बन्धी कसुर शीर्षकमा अनुसन्धान गरिरहेको छ ।
के थियो घटना ?
गत साउन २३ गते गोरखा नगरपालिका–५ रोहटेपानीमा बाटोमा हिँडिरहेकी ७५ वर्षीया रत्नकुमारी मग्रातीको घाँटीबाटै सुनको सिक्री लुटियो । कालो स्कुटरमा आएका दुई युवक सिक्री लुटेर फरार भएका थिए ।
त्यस्तै गत भदौ २३ गते साँझ पाँच बजेतिर सदरमुकामको छहरेस्थित बालमन्दिर माध्यमिक विद्यालय क्षेत्रमा बाख्रा चराइरहेकी दाउरी माया रानाले लगाएको सुनको सिक्री घाँटीबाटै लुटियो ।
मास्क लगाएर कालो स्कुटरमा आएका दुई युवक सिक्री लुटेर फरार भएका थिए । दुवै घटनामा मास्क लगाएर आएका ती युवकको न पहिचान गर्न सके न स्कुटर नम्बर याद गर्न । घटना प्रहरीसमक्ष पुग्यो ।
घाँटीबाटै सुन लुटिन थालेपछि प्रहरीले बिशेष सुरक्षा रणनीति अपनाउँदै चोरीमा संलग्नको खोजी कार्यलाई तीव्रता दियो । छुट्टै अनुसन्धान टोली गठन गरि परिचालन गर्यो । अन्ततः सिक्री लुटेराहरु समात्न प्रहरी सफल भएको हो ।
