काठमाडौं । नेपाल पुलिस क्लब काभा महिला क्लब च्याम्पियनसिपमा च्याम्पियन बनेपछि प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त बहादुर कुँवरले बधाई दिएका छन् ।
पुलिस क्लबको जितपछि सामाजिक सञ्जाल फेसबुकमार्फत आईजीपी कुँवरले बधाई दिएका हुन् । माल्दिभ्सको मालेमा शनिवार उज्वेकिस्तानको हुमो भिसीलाई ३-० को सोझो सेटमा हराउँदै पुलिस च्याम्पियन बनेको हो ।
उनले फेसबुकमा लेखेका छन्, ‘काभा महिला भलिबल क्लब च्याम्पियनसिपको फाइनल खेलमा उज्वेकिस्तानको हुमो भिसी क्लबलाई पराजित गर्दै पहिलो स्थान हासिल गरेकोमा नेपाल प्रहरी महिला भलिबल टोलीलाई हार्दिक बधाई तथा शुभकामना । सर्वोत्कृष्ट प्रदर्शन गर्दै महिला भलिबल टोलीले नेपाल प्रहरीको मात्र प्रतिनिधित्व नगरी सिङ्गो राष्ट्रलाई गौरवान्वित गरेको छ ।’
पुलिस क्लबको विधागत उत्कृष्ट खेलाडीमा समेत बर्चस्व रह्यो । उषा भण्डारी बेस्ट अपोजिट हिटर घोषित भइन् । त्यस्तै सुमित्रा रेग्मी वेस्ट मिडल ब्लकरमा र शान्तिकला तामाङ उत्कृष्ट लिबेरो चुनिइन् ।
टिपटप न्यु डायमण्डकी सुमित्रा तथा एपिएफका सरस्वती चौधरी र निरुता ठगुन्ना क्लव च्याम्पियनसिपका लागि पुलिसले अनुबन्ध गरेको थियो । पुलिस ६ खेलमा अपराजित हुँदै च्याम्पियन बनेको हो ।
