काठमाडौं । महान् पर्व दसैँ र तिहारमा यात्रुहरूको बढी चापका कारण दुर्घटनाको जोखिम पनि उत्तिकै बढ्ने गरेका छन् । हरेक वर्ष चाडपर्वमा भएका दुर्घटनाहरूमा धेरै हताहत हुने गरेका छन् ।
चितवनमा भने चाडपर्वको बेलामा यात्रुहरूको अत्यधिक चापका कारण मात्र नभई सडकको अवस्थाका कारण पनि दुर्घटनाको जोखिम उत्तिकै रहेका छ । पृथ्वी राजमार्ग बन्दै गरेका कारण सडक ठाउँठाउँमा भत्काइएको छ, पहिरोहरु पनि झरेका छन् ।
चाडपर्वमा यात्रुको चापकै कारण भएका दुर्घटनाबारे समाचार सुन्न र देख्न नपरोस् भनी बागमति प्रदेशका ट्राफिक प्रहरी प्रमुख प्रहरी उपरीक्षक खड्क खत्रीले यस अगाडि नै सम्बन्धित जिल्लाका जिल्ला प्रहरी कार्यालयहरूमार्फत जिल्ला ट्राफिक प्रहरी कार्यालयमा निर्देशन दिइसकेका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले भने यो निर्देशन आउनुपूर्व नै चाडपर्व केन्द्रित सडक तथा यात्रु सुरक्षा योजना तयार पार्न थालिसकेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख गायत्रीराज शर्माका अनुसार चितवन ट्राफिकले यात्रुहरूको सहजताका लागि विभिन्न योजनालाई कडाइका साथ काम गर्न सुरु गरिसकेको छ ।
सदाका वर्ष जस्तै यस वर्ष पनि चितवनको विभिन्न ठाउँहरुमा यात्रु सहायता कक्ष राखिनेछ । यसको उद्देश्य पनि यात्रुहरूलाई यात्राका क्रममा परेका कुनै पनि समस्याको सुनुवाइ गरी तुरुन्तै सुनुवाइ हुने ट्राफिक प्रहरी प्रमुख शर्मा बताउँछन् ।
‘यात्राका क्रममा सवारीमा क्षमता भन्दा बढी यात्रु राखेको होस, बढी भाडा लिएको होस वा सवारीमा हुने दुर्व्यवहारका कुरा नै किन नहुन सबै कुरा सहायता कक्षामा रहेका प्रहरी कर्मचारीलाई भन्नुपर्छ,’ उनले भने, ‘ड्युटीमा रहेका प्रहरीले तुरुन्तै उक्त गुनासोको सुनुवाइ गर्नेछन् ।’
त्यस्तै चाडबाडको बेलामा हुने सवारी दुर्घटनाको एउटा प्रमुख कारण मादक पदार्थको सेवन पनि रहेको छ । चाडबाडहरू रमाइलो गर्नकै लागि हुन भन्ने बुझाएका आधारमा सवारी चालकहरूले मादक पदार्थ सेवन गरी सवारी चलाउन सक्ने भएकोले त्यसो हुन नदिन चेकजाँचमा कडाइ गरिएको ट्राफिक प्रहरी प्रमुख शर्माको भनाई छ ।
अघिल्ला वर्षहरूमा पनि यातायात व्यवसायीहरूले चापको फाइदा उठाउँदै तोकिएको भन्दा बढी भाडा लिएको भन्ने गुनासा आउने गरेका थिए । यो प्रक्रिया दोहोरिन सक्ने भएकोले यात्रुहरूलाई मारमा पारेर बढी भाडा सङ्कलन गर्न नदिनको लागि भाडाको विषयमा गोप्य र सूक्ष्म रूपले अनुसन्धान गरिने ट्राफिक प्रहरी बताउँछ ।
यसका लागि सादा पोसाकका प्रहरीलाई यात्रुकै रूपमा सवारीमा पठाएर पनि परीक्षण गर्ने प्रहरीको योजना छ । यदि कोही पनि सवारीले बढी भाडा लिएको पाएमा त्यो फिर्ता गराउने र सवारी सञ्चालकलाई आवश्यक कारबाही हुने शर्मा बताउँछन् ।
दुर्घटनालाई न्यूनीकरण गर्न यस अगाडि नै लामो दुरीका सवारीमा दुई जना चालक हुनुपर्ने नियम कार्यान्वयन गरिसकिएको छ । यद्यपी, कतिपय सवारीहरूमा भने यो नियमको उल्लङ्घन गरेको पाइएको छ ।
उल्लङ्घन गरेकै कारण दुर्घटनाको जोखिम बढी हुने भएकोले हरेक चेक पोष्टहरुमा दुई जना चालकहरू भए नभएकोबारे पनि सोधपुछ गरिने, यदि नभएमा त्यो सवारीलाई त्यहीँ रोकेर यात्रुलाई अर्को सवारीमा व्यवस्थापन गरेर गन्तव्यमा पठाउने ट्राफिक प्रहरीको योजना छ ।
यस्तै समस्यामा परेका यात्रुले पनि आफ्नो समस्या लुकाउन खोज्ने प्रवृत्ति देखिएको र त्यो अवस्थामा पोसाकमा रहेका प्रहरीलाई जानकारी गराउन झनै अप्ठ्यारो महसुस हुन सक्ने भएकोले सादा पोसाकमा पनि प्रहरीहरू घुमिरहने शर्माले बताए । सादा पोसाकका प्रहरीले सवारीभित्रै बसेर वा बाहिर रहेर पनि सवारीको अवस्थाका बारेमा समेत जाँच गर्नेछन् ।
कतिपय सवारीको भौतिक र प्राविधिक अवस्था कमजोर रहेका कारण दुर्घटनामा पर्न सक्ने भएकोले राजमार्ग हुँदै देशका बिभिन्न सहरमा छुट्ने तथा सदरमुकाम आउजाउ गर्दै जिल्लाभित्रै चल्ने सवारीको परीक्षण गर्ने ट्राफिक प्रहरीको तयारी छ । अवस्था ठीक नभएका सवारीलाई तुरुन्तै ग्यारेजमा पठाएर अवस्था ठिक पारेर मात्र चलाउन दिन सक्ने छन्, वा हल गर्न नसकिने खालको समस्या भएमा त्यो सवारी ट्राफिक प्रहरीकै नियन्त्रणमा हुने छन् ।
यात्रुहरूलाई वैकल्पिक व्यवस्था हुने शर्माले बताए ।
