बिराटनगर । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआइजी) चन्द्र कुवेर खापुङले नजिकिदै गरेको चाडपर्वहरूलाई लक्षित गरी समाजमा शान्ति सुरक्षा कायम राख्दै चाडपर्व बिशेष सुरक्षा योजना अनुसार कुनै पनि आपराधका घटनाहरू हुन गर्न नपाउने गरी प्रहरी परिचालन गरी भरपर्दो सुरक्षा व्यवस्था मिलाउन जिल्ला प्रहरी प्रमुखहरुलाई निर्देशन दिएका छन् ।
असोज १ गते भर्चुअल माध्यमद्वारा प्रदेश प्रहरी प्रमुख खापुङले मातहत जिल्ला प्रहरी प्रमुखहरु तथा इलाका प्रहरी कार्यालयका प्रमुखहरुलाई नजिकिदै गरेको चाड पर्वलाई सुरक्षित बनाउने उद्धेश्यका साथ आ-आफ्नो जिम्मेवार क्षेत्रहरूमा सुरक्षा व्यवस्थापनको निम्ति आवश्यक सुरक्षा योजना निर्माण गरी समाजमा शान्तिसुरक्षा व्यवस्था मिलाउन निर्देशन दिएका हुन् ।
उनले चाडपर्वको समयमा हुनसक्ने अवान्छित गतिविधि, जुवातास, कालोबजारी नियन्त्रण, खुल्ला सिमा नाकाको कारण हुने चोरी तस्करी, लागू औषधको प्रयोग तथा ओसार पसार, अतिसवाजी तथा पटका जन्य पदार्थहरुको ओसार पसारलाई नियन्त्रण गर्न समेत प्रहरी परिचालन हुनुपर्ने बताए ।
चाडपर्वको समयमा सवारी साधनद्वारा मानिसहरुको आवत जावत बढी हुने हुँदा यात्रुहरुको सहजताको लागी यात्रु सहायता कक्षको स्थापना गरी सवारी दुर्घटना हुन नपाउने गरी ट्राफिक व्यवस्थापन मिलाउन समेत निर्देशन दिए ।
निर्देशनकै क्रममा उनले प्रहरीले आमनागरीकहरुलाई प्रदान गर्दै आएको प्रहरी सेवालाई प्रभावकारी बनाउदै सचेतना मुलक कार्यक्रमहरुलाई निरन्तररुपमा संचालन गर्ने तथा पेण्डिङ मुद्दाको फलोअप, फरार अपराधीहरूको खोजि कार्यलाई तिव्रता दिदै शुन्य सहनशिलताका साथ बिभागिय निती निर्देशनलाई अक्षरस पालना गर्न बताए ।
निर्देशन सम्वोधन कार्यक्रममा प्रदेश प्रहरी तालिम केन्द्र बिराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक अबि नारायण काफ्ले, कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक भीम बहादुर दाहाल तथा सिनियर प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।
