काठमाडौं । धनकुटाको महालक्ष्मी नगरपालिका–१ स्थित कटहरेका एक युवकले शनिबार करिब ११ बजे श्रीमतीको हत्या गरी आफुले पनि आत्महत्याको प्रयास गरेका छन् ।
२९ वर्षीया विजय दर्जीले खुकुरी प्रहार गरी श्रीमती २५ वर्षीया सरिता दर्जीको हत्या गरेका हुन् । खुकुरी प्रहारबाट गम्भिर घाइते भएकी सरितालाई उपचारका लागि जिल्ला अस्पताल धनकुटामा भर्ना गरिएको थियो ।
उपचारका क्रममा आइतबार बिहान करिब ४ बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका डीएसपी राजबाबु महर्जनले जानकारी दिए । श्रीमतीलाई आक्रमण गरेपछि विजयले आफैंलाई पनि खुकुरीले हानेको पाइएको छ ।
विजय पनि घाइते भएकाले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उनको उपचार भइरहेको छ । प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार सामान्य घरझगडा भएपछि विजयले खुकुरी झिकेर प्रहार गरेको पाइएको छ ।
उनीहरूका ५ र ११ वर्षका दुई छोरी छन् ।
