काठमाडौं । आरोहण आफैमा साहसिक कार्य हो । संसारकै अग्लो हिमालको चुचुरोमा पुग्नु चानचुने कुरा पनि होइन । हिमाल चढ्नु भनेको मृत्युलाई आत्मसाथ गर्नु पनि हो ।
यहि भनाई आत्मसात गर्दै १८ वर्षको कलिलो उमेरमै संखुवासभामा निमा रिन्जी शेर्पाले ८ हजारभन्दा माथिका १३ वटा हिमालको सफल आरोहण गरिसकेका छन् ।
१६ वर्षको उमेरदेखि हिमाल आरोहण सुरु गरेका निमाको अब एउटै सपना छ, त्यो हो चाइनाको तिब्बत बोर्डरमा रहेको ८ हजारमाथिको शिशपाङ्मा हिमाल चढेर कीर्तिमान बनाउने ।
चाइनाको तिब्बत बोर्डरमा रहेको शिशपाङ्मा हिमाल आरोहणपछि निमाले विश्वमै सबैभन्दा कम उमेरमा ८,००० मिटरभन्दा अग्ला १४ हिमाल चढ्ने आरोहीको रुपमा कीर्तिमान राख्नेछन् ।
हाल विश्वका आठ हजार मिटर अग्ला १४ वटा हिमालहरु आरोहण गर्ने सबैभन्दा कान्छो आरोहीको नाम मिङ्मा ग्याबु (डेभिड) शेर्पाको नाममा रहेको छ । सन् २०१९ मा ३० वर्षको उमेरमा १४ वटै हिमालहरु आरोहण गर्ने सबैभन्दा कान्छो आरोही बन्न सफल भएका थिए उनी ।
उनले बनाएको रेकर्डलाई तोड्दै निमाले उक्त रेकर्ड आफनो नाममा राख्न अब एउटा मात्र हिमाल आरोहण गर्न बाँकी रहेको छ । त्यो पनि अब छिट्टै पूरा हुने निमाको विश्वास छ ।
काठमाडौंमै हुर्केपढेका निमा सम्पन्नशाली परिवारका हुन् । तर, हिमाल आरोहणलाई आफ्नो करियरको महत्वपूर्ण उपलब्धी ठानेका उनले आफ्नो बुबाको सहयोगमा हिमाल आरोहणको यात्रा सुरु गरेका हुन् ।
पहिलोपटक निमाले ८,१६३ मिटर अग्लो मनास्लु हिमालको सफल आरोहण गरेका हुन् । मनास्लु हिमालको शिखरमा पाइला टेकेका निमा विश्वकै कान्छा आरोही समेत बनेका थिए ।
सानै उमेरदेखि बुबा टाशी लाक्पा शेर्पालेनै निमालाई व्यवसायिक आरोहण सम्बन्धि तालिम दिएका थिए । जतिबेला टाशीले एक कुशल पर्वतारोही बनेको हेर्न चाहेको बताउँदै विश्वका ८ हजार माथिको १४ वटा हिमाल आरोहणको योजना समेत रहेको खुलाएका थिए ।
त्यसपछि निमाले केटु, ब्रोडपिक, गासरब्रम– १, गासरब्रम– २, नङ्गा पर्वत, मनास्लु, अमा दब्लम, सगरमाथा, ल्होत्से, धौलागिरी लगायत हिमालहरु सफल आरोहण गरिसकेका छन् । उनले १० घण्टाभित्र सगरमाथा र ल्होत्से आरोहण गर्ने सबैभन्दा कान्छो आरोही पनि बनेका हुन् ।
निमाले आफ्नो क्लाइमिङ पार्टनर पासाङ नुरबु शेर्पासँगै १३ वटै चुचुरोमा पाइला टेकेका हुन् भने बाँकी रहेको शिशपाङ्मा हिमालमा पनि उनीसँगै आरोहण गर्न तयारीमा छन् ।