काठमाडौं । निक्कै रस्साकस्सीबीच कार्य सम्पादन मूल्यांकनमा पहिलो नम्बरमा रहेका तत्कालिन प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बसन्त बहादुर कुँवर २०७९ चैत १० गते नेपाल प्रहरीको नेतृत्वमा आए ।
यो १७ महिनाको समयमा उनले कहाँ के के गरे त ? उनी सफल भएका छन् कि त असफल ? तल्लो दर्जाको प्रहरीको लागि के गरे त ? संगठन सुधारको प्रयास भयो कि भएन ? सर्वत्र चासोको विषय पनि छ ।
कुँवर प्रहरी महानिरीक्षक (आईजीपी) भइसकेपछि नेपाल प्रहरीमा चौतर्फी सुधार प्रयास भएको परिणामहरुबाट देखिन्छ । नेपाल प्रहरीको नेतृत्व सम्हालेपछि कुँवर संगठनको कार्यशैलीमा परिवर्तन ल्याउन सफल भएका छन् ।
प्रहरीको सांगठनिक ढाँचा र कार्यक्षमतामा समेत उनको कार्यकालमा निकै प्रगति भएको तथ्यहरुले देखाउँछ । उनले प्रहरीभित्र रहेको आन्तरिक कमिकमजोरीहरुलाई सुधार गर्दै देशमा शान्ति सुव्यवस्था कायम गर्न उल्लेखनीय भूमिका निर्वाह गरेका छन् ।
संगठन सञ्चालनको नयाँ अभ्यास, स्पष्ट नीति र लक्ष्यका साथ संगठनको नेतृत्व गरेका उनले समय र परिस्थिति अनुकूल संगठनलाई स्रोतसाधन सम्पन्न बनाउने कार्यमा पनि लागिपरेका छन् ।
केही अपवादको घटनाबाहेक संगठनलाई गतिशील बनाउने, समाजमा हुने आपराधिक क्रियाकलाप नियन्त्रण गर्ने, गुन्डागर्दी अन्त्य गर्ने कार्यमा आफूलाई समर्पित गर्दै आएका छन् ।
साथै संगठनको मनोबल उच्च बनाउने, प्रहरीलाई प्रविधिमैत्री बनाएर समाजमा हुनसक्ने सम्भावित आपराधिक क्रियाकलाप नियन्त्रण गर्ने काममा पनि उनी अहोरात्र खटिँदै आएको कुरा जगजाहेर नै छ ।
देशभित्र मात्र होइन अन्तर्राष्ट्रिय क्षेत्रमा पनि प्रहरी संगठनको छवि राम्रो बनाउन सफल भएका छन् कुँवर आफ्नो कार्यकालमा । कुँवरकै कार्यकालमा सगरमाथा आरोहण गरेका सई पुरुषोत्तम नेपालीलाई सम्मान गरियो । जुन कार्यक्रममा आईजीपी कुँवरसमेत सहभागि थिए ।
अन्तर्राष्ट्रिय, क्षेत्रीय आतंकवाद तथा राष्ट्रिय अतिवादका गतिविधिमा प्रभावकारी नियन्त्रण गर्न प्रहरी सफल रहेको बताउँदै उनले अन्तर्राष्ट्रिय, क्षेत्रीय तथा छिमेकी मुलुकका सुरक्षा चासोका सम्बन्धमा सरकारले अवलम्बन गरेका सुरक्षा र विदेश नीतिको प्रभावकारी कार्यान्वयनमा प्रतिबद्ध भएर लागेको बताए ।
उनी भन्छन्, ‘देश र जनताको सेवा गर्न पाउनु निकै गर्वको कुरा हो, संगठनका हरेक सदस्यले गर्व गर्नुपर्छ ।’ शान्ति सुरक्षा, अमन चयनको मुख्य जिम्मेवारी पाएको प्रहरीले आफ्नो दायित्व र कर्तव्य पूरा गर्दै आएको उल्लेख गर्दैै उनले केही घटनालाई कारण देखाएर प्रहरीले गरेको राम्रो कामको अवमूल्यांकन गर्न नहुने बताउँछन् ।
कुँवरको कार्यकालमा सरुवामा समेत मापदण्ड बनाइएको छ । जसको अक्षरंस पालना भएको छ । चारवटा श्रेणीमा विभाजित गरेर कुँवरले आलोपालो जिल्ला इन्चार्ज पठाउने नीति बसालेपछि शक्तिकेन्द्रसँग निकट भएका अधिकृतहरुले समेत अवसर पाउने गरेका छन् ।
उनको कार्यकालमा तल्लो दर्जाको प्रहरी कर्मचारीहरुको माग समेत सम्बोधन हुने तयारीमा छ । १६ बर्ष पेन्सनअवधी बनाउनुपर्ने तल्लो दर्जाका प्रहरी कर्मचारीहरुको माग छ । सोही बमोजिम गृहले काम गरिरहेको उनी बताउँछन् ।
महानिरीक्षकको जिम्मेवारी सम्हालेदेखि नै कुँवर सुशासन र शान्ति स्थापनामा प्रतिबद्ध भएर लागेका थिए । अहिलेको विद्यमान प्रहरी ऐनअनुसार कुँवरको कार्यकाल अझै ७ महिना बाँकी छ ।
उनको कार्यकालमा भएका प्रमुख उपलब्धिहरू
१ नक्कली भुटानी शरणार्थी प्रकरणमा सफल अनुसन्धान ।
२ संगठित र पेशेवर आपराधिक गतिविधि नियन्त्रण ।
३ सुन तस्करी प्रकरणमा सफलता ।
४ प्रभावकारी प्रहरी परिचालनद्वारा कानुन र व्यवस्था कायम ।
५ नयाँ मुलुकी अपराध संहिताको वस्तुनिष्ठ कार्यान्वयन ।
६ सुरक्षा क्षेत्रमा क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सहयोग अभिवृद्धि ।
७ सांगठनिक व्यवस्थापनमा सूचना प्रविधिको विकास ।
८ आर्थिक अनुशासन र आन्तरिक सुपरिवेक्षण प्रणालीमा प्रभावकारिता ।
९ प्रभावकारी ट्राफिक व्यवस्थापन र विपद् उद्धार ।
१० तल्लो दर्जाको समस्या सम्बोधन गर्ने तयारीमा ।
