काठमाडौं । बाराको निजगढ नगरपालिका–९, भमरा टोलमा मंगलबार राती ४५ वर्षीय बिमलकुमार बस्नेतले श्रीमती ४० वर्षीया लक्ष्मी राई (सिता) को हत्या गरेका छन् । खुर्पाले पटक–पटक हात, खुट्टा र घाँटीमा प्रहार गर्दा लक्ष्मी घाइते भएकी थिइन् ।
उनको उपचारका क्रममा राति सवा ८ बजे मृत्यु भएको हो । आमा र बुबाको झगडामा छुट्याउन गएका छोरीहरु पनि घाइते भएका छन् । १८ वर्षीया गंगा राई र १५ वर्षीया जमुना राईको बायाँ हातमा चोट लागेको इलाका प्रहरी कार्यालय निजगढले जनाएको छ ।
उनीहरुको सामुदायिक प्रसुती गृह अस्पताल निजगढमा प्राथमिक उपचारपछि वीरगञ्जको नेशनल मेडिकल कलेजमा थप उपचार भएको थियो । दुई मध्ये जमुनाको अवस्था गम्भिर रहेकाले उनलाई काठमाडौं पठाइएको ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक सुमित कुशवाहाले बताए ।
हत्याको कारण भने सामान्य छ । घरमा जडान गरिएको इन्टरनेटमा रिचार्ज गर्ने बिषयमा दुई जनाको बीचमा विवाद सुरु भएको थियो । इन्टरनेटमा पैसा नहुँदा आफुले फेसवुक तथा ह्वाट्सएप लगाएका सामाजिक सञ्जाल प्रयोग गर्न नपाएको लक्ष्मीले गुनासो गरेकी थिइन् ।
‘वाइफाइको रिचार्ज गर्न पैसा नहुँनेसँग रक्सी खान पैसा कहाँबाट आयो’ भन्दै लक्ष्मीले प्रश्न गरेकी थिइन् । सोही विवादले उग्ररुप लिएको हो । विवादकै बीचमा लक्ष्मी शौचालय गएकी पाइएको छ । रक्सीको नसामा मस्त रहेका श्रीमानले त्यही वेला नजिकै रहेको खुर्पाले लक्ष्मीमाथि प्रहार गरेको प्रहरीले जनाएको छ।
स्थानीयले भने तत्कालिन कारण इन्टरनेट देखिएपनि उनीहरुको बीचमा विगत एक महिनादेखि विवाद हुँदै आएको बताएका छन् । दुई छोरीकी आमा लक्ष्मीले बिमल बस्नेतसित ६/७ वर्षअघि दोस्रो विवाह गरी बस्दै आएकी थिइन् ।
दुई छोरी भने पहिलाकै श्रीमानबाट जन्मेका हुन् । विमलको स्थायी घर सप्तरीको राजविराज नगरपालिका–८ रहेको जनाइएको छ । श्रीमतीको हत्या गरी भाग्दै गरेका उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
