काठमाडौं । नेपाल प्रहरीले अनुसन्धानमा खटाउनका लागि विदेशबाट १२ वटा कुकुर किनेर ल्याएको छ । २९ लाख रुपैयाँ मूल्य बराबरको कुकुरका लागि गत चैतमा टेन्डर आह्वान गरिएको थियो ।
प्रक्रिया पुरा गरेर कुकुर ल्याइएको हो । यसरी ल्याएकामध्ये ४ वटा कुकुर नेपाल प्रहरीको कुकुर तालिम केन्द्रमा राखेर अरु ८ वटा विभिन्न प्रदेशका शाखाहरुमा पठाइएको केनाइन शाखाका एसपी रामचन्द्र सत्यालले जानकारी दिए ।
ल्याइएका कुकुरमा जर्मन शेफर्ड लगायत तीन जातका छन् । उनका अनुसार कुकुरहरु ३ महिनादेखि ७ महिनासम्म उमेरका ल्याइएको हो । विदेशबाट ल्याएका कुकुरलाई दैनिक ६ महिनासम्म तालिम दिने गरिन्छ ।
तालिम अवधि पुरा भएपछि अनुसन्धानमा खटाउने गरिएको छ । पछिल्ला वर्ष तालिमप्राप्त कुकुर अनुसन्धान र सुरक्षाका लागि प्रयोग हुँदै आएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि जनकपुर, भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा समेत प्रहरीको अनुसन्धान सहयोगीका रूपमा कुकुरको प्रयोग हुँदै आएको छ । त्यस्तै भारतीयसँग जोडिएका सीमा क्षेत्रमा प्रहरीले कुकुरसहितको गस्ती गर्दै आएको छ ।
प्रधानमन्त्री कार्यालयमा पनि प्रहरी कुकुरसहितको दरबन्दी छ । तर, अहिलेसम्म त्यहाँ भने कुकुर पठाइएको छैन । अहिले देशभर नेपाल प्रहरीसँग एक सय वटा तालिमप्राप्त कुकुर छन् ।
