काठमाडौं । दुबईबाट फर्किएकी एक महिलालाई लुटपाट गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।
कार्यालयका अनुसार पक्राउ पर्नेहरुमा बूढानिलीकण्ठ बस्ने मनोज भुजेल, बौद्ध बस्ने प्रकाश भन्ने विकास श्रेष्ठ र महाराजगंज बस्ने डम्बरलाल उपाध्याय रहेका छन् ।
उनीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि नै मोटरसाइकलमा पिच्छा गरेर ललितपुरस्थित कृषि अनुसन्धान केन्द्र नजिकै लुटपाट गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
लुटपाटमा संलग्न चार जनामध्ये एक जना भने फरार छन् । लुटिएकी महिलाले दुबईबाट मणिकुमार राईको सामान ललितपुर ल्याइदिएकी थिइन् ।
२९ साउनमा लुटेरा समूहले दुई वटा आइफोन–१४, दुई वटा सामसुङ अल्ट्रा–२४ मोबाइल, एप्पलको ल्यापटप, गेम बक्स र चार तोला बराबरको दुई वटा सुनको सिक्री लुटपाट गरेका थिए ।
विदेशबाट मणि कुमार राईले मगाएको ४ तोला बराबरको दुईथान सिक्री पनि उनीहरूले लुटेका हुन् । उनीहरुमाथि थप अनुसन्धान भइरहेको कार्यालयले जनाएको छ ।
