काठमाडौं । उपत्यका प्रहरी कार्यालय रानीपोखरीकी प्रमुख छिन् प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) किरण बज्राचार्य । सुरक्षा संवेदनशील मानिने काठमाडौँ उपत्यकाको सुरक्षा जिम्मेवारी पहिलोपटक महिलाले सम्हाल्ने अवसर पाएको हो ।
२६ दिनअघि जिम्मेवारी सम्हालेसँगै किरण काठमाडौँ उपत्यका प्रहरी कार्यालयको पहिलो महिला प्रमुख बनेकी हुन् । यसअघि उनले एसपी हुँदा भक्तपुर र एसएसपी हुँदा ललितपुर प्रहरी प्रमुखको रूपमा काम गरिसकेकी छन् ।
काठमाडौं उपत्यका प्रहरी कार्यालय सरुवा हुनुभन्दा ५ महिना पहिले उनले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) निर्देशकको रूपमा काम गरिसकेकी थिइन् । त्यसैले उनी जहाँकार्यरत रहँदा पनि आफ्नो काममा कहिँकतै चुकिनन् ।
२०७३ सालमा केन्द्रीय अनुसन्धान ब्यूरोमा कार्यरत रहँदा किरणले संगठित रुपमा मानव बेचबिखन गर्ने ‘संगठित मानव तस्कर समूह’ लाई पक्राउ गर्न सफल भएकी थिइन् ।
उक्त सफलतापछि अमेरिकी विदेश मन्त्रालयले मानव बेचबिखन विरुद्धको अभियानमा ठूलो सफलता प्राप्त गरेको भन्दै ‘टीआईपी रिपोर्ट हिरो’ को रुपमा सन् २०१६ मा सम्मानित गरेको थियो ।
यसरी सफल हुनकै लागि आफ्नो कर्तव्यलाई पूर्ण रुपमा पालना गर्ने गरेकी किरण सीआईबी निर्देशक हुँदा तत्कालिन गृहमन्त्री रवि लामिछानेले अनेकन लाञ्छना लगाएर सीआईबीबाट सरुवा गराएका थिए । तर, पुष्टि हुन नसकेपछि उनले उपत्यकाको पूर्ण जिम्मेवारी पाएकी हुन् ।
‘जे हुन्छ राम्रैकै लागि हुन्छ भने त्यतिबेला म आफू मिडियामा समेत आइन, जसको परिणाम आज उपत्यकाको नेतृत्व गर्न आइपुगेको छु,’ किरण भन्छिन्, ‘खाएको विष लाग्छ, नखाएको विष लाग्दैन भन्ने कुरा पनि बुझेको छु ।’
किरण २०५१ चैत ५ गते नेपाल प्रहरीको इन्स्पेक्टरमा खुलेको खुल्ला प्रतिस्पर्धामार्फत प्रहरी सेवामा प्रवेश गरेकी हुन् । प्रहरीमा महिलातर्फ किरणको छवि अब्बल प्रहरी अधिकृतको देखिन्थ्यो, थियो । उनी लैङ्गिक फाइदा लिएर संगठनमा अगाडि बढेकी होइनन् प्रतिस्पर्धाबाटै अगाडि बढेकी हुन् ।
त्यसैले किरण नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) पदको पहिलो महिला प्रतिस्पर्धी समेत बनेकी थिइन् । उनी आईजीपी नियुक्त भएको भए नेपाल प्रहरीको पहिलो महिला आईजीपी हुने थिइन् । तर, जतिबेला सरकारले बसन्त बहादुर कुँवरलाई आईजीपी नियुक्त गरेको थियो ।
पुरुष प्रहरीको तुलनामा महिला प्रहरी न्यूनभएपनि महिला प्रहरी प्रतिस्पर्धी रुपमा अघि देखिएका छन् । पछिल्लो समय नेपाल प्रहरीमा जागिर खान महिलाको आर्कषण बढेसँगै महिला प्रहरीको कार्यशैली पनि उत्कृष्ट देखिएको छ ।
