काठमाडौं । नेपाल प्रहरीमा स्टाफ कलेज सरहको मास्टर इन पुलिस साइन्सेस (एमपीएस) सन्चालनका लागि त्रिभुवन विश्वविद्यालयसँग शुक्रबार सम्झौता भएको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र त्रिभुवन विश्वविद्यालयबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ ।
प्रहरी महानिरीक्षक (आइजीपी) बसन्त बहादुर कुँवर र त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डीन प्रा.डा. डिल्लीराज शर्माले समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । हस्ताक्षरपछि समझदारीपत्र आदान प्रदान समेत गरे ।
प्रहरी महानिरीक्षक कुँवरले सिनियर प्रहरी अधिकृतहरूको वृत्तिविकास र नेतृत्व विकास कोर्षको रूपमा एमपीएस रहने बताए । रिसर्च, अनुसन्धान, रणनीति र योजना तर्जुमा गर्न सक्ने दक्ष जनशक्ति विकास भई नेपाल प्रहरीको आधुनिकीकरण तथा सांगठनिक सुदृढिकरणका क्षेत्रमा अपेक्षित लक्ष्य प्राप्त हुनेमा विश्वस्त रहेको उनले बताए ।
प्रहरी निरीक्षक (इन्स्पेक्टर) बाट भर्ना भएर कम्तिमा ८ वर्ष सेवा गरेका प्रहरी निरीक्षक र प्रहरी नायब उपरीक्षक (डीएसपी)ले एमपिएस कोर्स गर्न पाउँछन् । ३५ जनाको कोटाका लागि प्रवेश परिक्षा लिइने प्रहरी प्रधान कार्यालयले जनाएको छ । केही महिनाभित्रै कोर्स सुरु गर्ने तयारीमा प्रहरी प्रधान कार्यालय छ ।
कोर्स सन्चालन हुन थालेपछि प्रहरीको सरुवा बढुवामा ब्यापक प्रभाव पर्नेछ । बढुवाका लागि शक्ति केन्द्र धाउने प्रचलनको अन्त्य हुने प्रहरी प्रधान कार्यालयको विश्वास छ । प्रहरी प्रधान कार्यालयका अनुसार एमपीएस प्रवेश परिक्षामा एक जनाले तीनपटक सम्म भाग लिन पाउनेछन् ।
तत्कालका लागि एमपीएस एउटा कोर्सका रुपमा मात्र सन्चालन हुनेछ र प्रहरी ऐन तथा नियमावलीमा वृत्ति विकाससँग जोडेर राखेपछि मात्र बढुवाका लागि यसको व्यावहारिक कार्यान्वयन सुरु हुने छ । प्रहरी प्रधान कार्यालयका अनुसार एमपीएस कोर्सलाई वृत्ति विकाससँग जोड्ने गरी नयाँ प्रहरी ऐनमा प्रस्ताव गरिएको छ।
सुरुमा २०७० को इन्सपेक्टर भर्ना ब्याचबाट एमपीएस कोर्समा सहभागी हुन मिल्ने गरी व्यवस्था मिलाइएको ती अधिकारीले बताए । संघीय प्रहरी ऐन बन्ने तयारीमा छ ।
