काठमाडौं । ठूलो संख्यामा नेपाल प्रहरीमा प्रहरी निरीक्षक (इन्स्पेक्टर)देखि प्रहरी नायब महानिरीक्षक (डिआईजी) पद खाली छ । १६ भदौमा एकैपटक ८९ जना प्रहरी अधिकृत अनिवार्य अवकाशमा गएपछि ठूलो संख्यामा पद खाली भएको हो ।
अहिले डिआईजीको २ पद रिक्त छ । आगामी २४ भदौमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीसमेत अनिवार्य अवकाशमा जाने भएपछि ३ डिआईजी पद रिक्त हुनेछ । त्यस्तै १६ प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) पद रिक्त छ ।
यसैगरी प्रहरी उपरीक्षक (एसपी)को २५ पद रिक्त हुनेछ भने ५५ वटा प्रहरी नायब उपरीक्षक (डिएसपी) पद रिक्त भएको छ । त्यसैगरी ९० वटा इन्स्पेक्टरको पद रिक्त छ । जसकारण रिक्त पदमा बढुवाको लागि तीव्र प्रतिस्पर्धा छ ।
आगामी २२ असोजसम्म कार्यसम्पादन मूल्याकंन भर्ने समयावधी रहेकाले त्यतिबेलासम्म बढुवा नहुने सम्भावना छ । नयाँ कासमूको आधारमा बढुवा गर्नुपर्ने हुँदा २२ असोजपछि नै बढुवा हुने एक प्रहरी अधिकृतले बताए ।
तत्काल बढुवा नहुने भएपनि प्रहरी प्रधान कार्यालयले अहिलेदखि नै बढुवाको तयारी भने गरिरहेको छ । जसकारण पछि सहज हुनेछ । प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त कुँवर संगठनको हितमा काम गर्ने अधिकृतहरुलाई बढुवामा छुटाउन नहुने पक्षमा छन् ।
रिक्त डिआईजीका लागि एसएसपीहरु सिद्धिविक्रम शाह, सुशिलसिंह राठौर, उमा चतुर्वेदी मुख्य प्रतिस्पर्धी हुन् । त्यसैगरी दिनेश आचार्य, ओम राना, हिमालयकुमार श्रेष्ठ, डम्बर बहादुर विक, भोला रावल, ध्रुव राउतलगायत पनि प्रतिस्पर्धी छन् ।
यसैगरी एसएसपी बढुवाको लागि २ लटमा बढुवा भएका एसपीहरु छन् । २०५६ को टोलीबाट विनोद सिलवाल, गोविन्द अधिकारी, विमल कँडेललगायत छन् । उनीहरुपछि २०५८ मा भर्ना भएको टोली एसएसपीको दाबेदार हुन् ।
२०५८ को टोलीबाट प्रतिस्पर्धामा रमेश थापा, अनुपम शमशेर जबरा, अजय केसी, नवराज अधिकारी, कृष्ण पंगेनी, जनार्दन जिसी, सन्तोष खड्का, कमल थापालगायत छन् । यिनीहरु पहिलो लट २०७५ माघमा एसपी भएका हुन् ।
त्यसपछि २०७७ वैशाखमा बढुवा भएका होविन्द्र बोगटी, सन्तोष सिंह राठौर, प्रभु प्रसाद ढकाल, सन्तोष भट्टराई, दयानिधी ज्ञवाली, प्रविण धिताल, राजेन्द्र प्रसाद धमलालगायतको टोली छ । उनीहरु संगठनमा इमान्दार र व्यवसायीक प्रहरी अधिकृतको रुपमा चिनिन्छन् ।
त्यसैगरी एसपी बढुवाको लागि समेत २ लटमा बढुवा भएका टोली छन् भने डिएसपी बढुवाको लागि २०७० सालमा भर्ना भएको टोली मुख्य दाबेदार छ ।
‘बरियताका आधारमा भन्दापनि कामको मूल्याकंनको आधारमा बढुवा गर्नेगरी तयारी भइरहेको छ,’ प्रधान कार्यालय स्रोतले भन्यो, ‘यसले गर्दा काम गर्ने प्रहरीहरुको मनोबल उच्च हुनेछ ।’
२,४ वर्षअघिका बढुवाहरु पैसा उठाएर लबिइङको आधारमा भएको थियो । जसकारण अहिले त्यो गलत प्रवृत्तिलाई रोकेर आईजीपी कुँवरले सरुवा बढुवा गरिरहेका छन् ।
