काठमाडौं । मोरङको सुन्दरहरैचा नगरपालिका-७ स्थित एक केरा बगानमा मृत फेला परेका दुई बालिकाको हत्या उनीहरूकै आमाले गरेको स्वीकार गरेकी छन् ।
घटनास्थलबाट फरार भएकी २१ वर्षीया अस्मिता पौडेललाई प्रहरीले झापाको बिर्तामोडबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
कार्यालयका अनुसार, अस्मिता पौडेलले घरायसी विवादका कारण आफ्ना छोरीहरू १ वर्षीया आइङ्का कार्की र ३ वर्षीया अर्पना कार्कीलाई विष सेवन गराई हत्या गरेको स्वीकार गरेकी छन् ।
धनकुटा पाख्रीबास नगरपालिका-५ घर भएकी अस्मिता, हाल मोरङको सुन्दरहरैचा-७ मा आफ्नो पति अर्जुन कार्कीसँग बस्दै आएकी थिइन् ।
छोरी लिएर शुक्रवारदेखि सम्पर्कविहीन रहेकीमा शनिबार छोरीहरु मृत फेला परेपनी अस्मिता सम्पर्कमा आएकी थिइनन।
प्रहरीले अस्मितालाई भदौ १९ गते बिहान पूर्वपश्चिम राजमार्गमा पक्राउ गरेको जनाएको छ । अस्मिताले श्रीमान् आर्जुनसंग विवादपछि आफुले बिस सेवन गरेको र पेट पोल्न थालेपछि छोरीहरूलाई पनि बिस खुवाएको बयान दिएको प्रहरीले जनाएको छ ।
श्रीमानले आफ्ना छोरीहरूको हत्या गरेको आरोप लगाउँदै अस्मिता पौडेलविरुद्ध कानूनी कारबाहीको माग गरेका छन् । यस घटनामा मोरङ जिल्ला अदालतले चार दिनको म्याद थप गरी अनुसन्धानलाई अघि बढाइएको कार्यालयले जनाएको छ ।