काठमाडौं । अमेरिकाको मेरिल्यान्डमा नेपाली युवतीको हत्या भएको एक हप्तामै अर्का नेपाली युवक पनि मृत भेटिएका छन् ।
पर्वत घर भई अमेरिकाको मेरिल्याण्ड राज्यमा बस्दै आएका ४७ वर्षी शान्तलाल प्रधान मृत भेटिएका हुन् । गत अगस्त २७ (मंगलबार) उनी मृत फेला परेका हुन् ।
गणित शिक्षक रहेका प्रधान सन् २०१५ मा अमेरिका पुगेका थिए । उनी सन् २०२२ मा मेरिल्याण्ड ब्यापार गर्न पुगेका थिए । प्रधानका पत्नीका साथै एक छोरी र एक छोरा रहेका छन् ।
उनको शव नेपाल फर्काउने तयारी गरिएको बताइएको छ । उनको मृत्युको कारण पत्ता नलागेको मेरिल्याण्डवासी प्रविन भण्डारीले बताए । उनको शव नेपाल पठाउन कागजी प्रक्रिया भैरहेको उनले बताए ।
यसअघि अमेरिकाको ह्युष्टनमा २१ वर्षीया नेपाली विद्यार्थी मुना पाण्डेको हत्या भएको थियो । पाण्डेमाथि गोली हानी हत्या गरेको आरोपमा ५१ वर्षीय बबीसिंह शाह पक्राउ परेका थिए ।
मुना नेपालको भोजपुरकी स्थायी बासिन्दा हुन् । पाण्डे सन् २०२१ मा अध्ययनका लागि अमेरिका गएकी थिइन् ।
