काठमाडौं । जिल्ला प्रहरी कार्यालय कास्कीको टोलीले पोखरास्थित सुर्यदर्शन सहकारीको निक्षेप रकम हिनामिना बारे अनुसन्धानका लागि ३ वटा कम्पनीमा खानतलासी गरेर कागजात नियन्त्रणमा लिएको छ ।
डीएसपी वसन्त शर्मा नेतृत्वको टोलीले कागजात नियन्त्रणमा लिएर पूर्वगृहमन्त्री रवि लामिछाने, पूर्व डीआईजी छविलाल जोशी र गोरखा मिडिया नेटवर्कका कर्मचारी विपिन कर्माचार्यसँग सोधपुछ गरेको बताइएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टीका समेत सभापति रहेका लामिछानेसँग कास्की प्रहरीको टोली पनि काठमाडौं नै आएर सोधपुछ गरेको हो । ‘लामिछानेको समेत नाम उल्लेख गरेर पूरक जाहेरी परेपछि त्यसबारे सोधपुछ गरिएको हो’ प्रहरी उच्च स्रोतले भन्यो ।
पोखराको सूर्यदर्शन सहकारीको रकम लामिछाने प्रबन्ध निर्देशक रहेको गोर्खा मिडिया प्रालिमा लगेको र लामिछानेकै नाममा समेत ऋण लिएको भेटिएपछि १६ माघ २०८० मा बचतकर्ताले उनीविरुद्ध पूरक जाहेरी दिएका थिए ।
तर, लामिछानेसहित तीनै जनाले सूर्यदर्शन सहकारी ठगी प्रकरणमा आफूहरुको संलग्नता अस्वीकार गरेका छन् ।
