टेक्सास । अमेरिकामा हत्या गरिएकी नेपाली युवती मुना पाण्डेमाथि गोली चलाउने व्यक्तिको तस्बिर सार्वजनिक भएको छ ।
बुधबार होस्टन प्रहरीले अभियुक्तको तस्बिर सार्वजनिक गरेको हो । यद्यपि अभियुक्तको पहिचान भने खुलिनसकेको त्यहाँको प्रहरीलाई उद्धृत गर्दै अमेरिकाबाट प्रकाशन हुने नेपाली अखबार नेप्योर्कले उल्लेख गरेको छ ।
होस्टन कम्युनिटी कलेजमा अध्ययनरत २१ वर्षीया मुना पाण्डे सोमबार साँझ आफ्नै घरमा हत्या गरिएको अवस्थामा भेटिएकी थिइन् । उनीमाथि गोली प्रहार भएको थियो ।
सिसीटिभी फुटेजअनुसार मुना मृत भेटिएको स्थानमा अभियुक्त अगस्ट २४ को बेलुका ९ बजेर ४८ मिनेटमा देखिएका छन् । प्रहरीले ती व्यक्ति को हुन् भन्ने पहिचान नभइसकेको बताएको छ ।
यद्यपि मुना प्रेम सम्बन्धमा रहेको भनिएको अमेरिकी युवक ती अभियुक्त नरहेको पनि प्रहरीलाई उद्धृत गर्दै नेप्योर्कले लेखेको छ । प्रहरीले अभियुक्त पहिचानका लागि समूदायको सहयोग मागेको छ । चिन्ने र देख्ने व्यक्तिहरूलाई प्रहरीमा खबर गर्न भनेका छन् ।
गत सोमबार साँझ साढे ५ बजे टेक्सासस्थित होस्टन कम्युनिटी कलेजमा अध्ययनरत २१ वर्षीया युवती मुना पाण्डेको हत्या भएको थियो । मुना भोजपुरकी हुन् ।
शनिबारदेखि सम्पर्कविहीन रहेकी उनी सोमबार आफ्नै घरमा मृत भेटिएकी थिइन् । होस्टन प्रहरीले उनीमाथि एकभन्दा बढी राउन्ड गोली प्रहार भएको बताएको छ।
नेप्योर्कले काठमाडौंमा रहेकी मुनाको आमा अनिता पाण्डेसँग समेत कुरा गरेको थियो । उनले शनिबारदेखि छोरी आफ्नो सम्पर्कमा नरहेको बताएकी थिइन् ।
आफ्नी छोरी एकजना अमेरिकी नागरिकसँग प्रेम सम्बन्धमा रहेको र सम्बन्ध लाई लिएर केही तनावमा रहेको पनि अनिताले नेप्योर्कसँग बताएकी थिइन् ।
प्रहरीले ती व्यक्ति नरहेको बताइसकेको छ ।
