काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरले प्रहरीभित्र आन्तरिक शुद्धिकरणको अभियान अहिलेको मुख्य प्राथमिकतामा रहेको बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीको नवनिर्मित भवन भैरहवामा उद्घाटन गर्दै आईजीपी कुँवरले यस्तो बताएका हुन् । आईजीपी कुँवरले अब उच्च पदस्थ प्रहरी अधिकारीहरुको बैंक खाता चेक गरिने बताए ।
कुँवरले नवनिर्मित भवन नेपाल प्रहरीको मात्र नभई स्थानीय नागरिकको समेत सम्पत्ति भएको चर्चा गर्दै प्रहरी र जनताबीचको समन्वय र सहकार्यले अपराध रोकथाम तथा अनुसन्धान थप प्रभावकारी हुने बताए ।
उनले नागरिकको सुरक्षाका लागि मुलुकका विभिन्न स्थानहरूमा विद्यमान चुनौतीहरूको सामना गर्दै हर प्रहर ड्युटीमा तैनाथ रहने प्रहरी कर्मचारीहरूलाई आवश्यक सुरक्षा मापदण्ड सहितको सुविधा सम्पन्न कार्यालय र आवासको व्यवस्था गर्नु संगठनको उच्च प्राथमिकता रहेको उल्लेख गर्दै नव-निर्मित संरचनाहरूले प्रहरी काम कारवाहीलाई थप व्यवसायिक बनाउने विश्वास व्यक्त गरे ।
कार्यक्रममा प्रहरी महानिरीक्षक कुँवरले भवन निर्माण कार्यमा सहयोग पुर्याउने विभिन्न महानुभावहरुलाई प्रशंसा-पत्र समेत प्रदान गरे ।
आइजीपी कुँवरले जिल्ला प्रहरी कार्यालय रूपन्देही परिसरमा नवनिर्मित कार्यालय भवन, कार्यालय प्रमुखको निवास, ब्यारेक, हिरासत तथा भान्साघर लगायतका भवनहरूको बुधबार आयोजित एक कार्यक्रमबीच उद्घाटन गरेका हुन् ।
त्यस्तै कार्यक्रममा लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी नायव महानिरीक्षक कुवेर कडायतले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख इश्तियाक अहमद खाँ र रूपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले आ-आफ्नो शुभकामना मन्तव्य व्यक्त गरेका थिए
जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रहरी उपरीक्षक रंजित सिंह राठौरले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा प्रहरी नायव उपरीक्षक ई. रोशन सारूमगरले भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए । नेपाल सरकारको नियमित बजेटबाट कुल १४ करोड ९६ लाख ९४ हजार ५ सय ९१ रूपैयाँको लागतमा उक्त भवनहरू निर्माण कार्य सम्पन्न भएको हो ।
उद्घाटन समारोहमा जिल्लाका विभिन्न पालिकाका प्रमुखहरू, नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रमुखहरू, विभिन्न राजनैतिक दलका प्रतिनिधिहरू, विभिन्न संघ संस्थाका प्रमुख एवम् प्रतिनिधिहरू, पूर्व प्रहरी कर्मचारीहरू, स्थानीय समाजसेवी, भद्रभलाद्मी, संचारकर्मी एवम् स्थानीयवासीहरूको उपस्थिति रहेको थियो ।
