काठमाडौं । अमेरिकाको भर्जिनिया राज्यको मनाससबाट वेपत्ता भएकी नेपाली नर्स ममता भट्टको ‘हत्या’ गरेको आशंकामा उनकै श्रीमान नरेश भट्ट प्रहरी हिरासतमा छन् । भट्टले श्रीमतीको हत्या गरी शव लुकाएको प्रहरीले बताएको छ ।
काभ्रे घर भएकी ममता गत ३० जुलाइबाट अमेरिकामा सम्पर्कविहिन भएकी थिइन् । उनका श्रीमानले भने ५ अगष्टमा मात्रै प्रहरीमा औपचारिकरुपले रिपोर्ट गरेका थिए । नेपाली समुदायले सुरुबाटै उनीमाथि शंका गरेका थियो । अन्ततः घरमा प्रहरीले खानतलासीपछि भट्टराई पक्राउ गरेको हो ।
यद्यपि भट्टले अपराध स्वीकार गरेका छैनन् । हिजो उनलाई मनसासस्थित प्रिन्स विलियम अदालतमा पेश गरिएको थियो । उनले आफूलाई अंग्रेजी राम्रो बोल्न नआउने भन्दै दोभासेमार्फत बयान दिए ।
सुनवाइपछि अदालतले उनलाई धरौटीमा छोड्न अस्वीकार गरेको छ । हिरासतमुक्त गर्दा भाग्न सक्ने र समाजका लागि खतरा हुनसक्ने भन्दै न्यायधीशले धरौटी दिन अस्वीकार गरेका हुन् । अर्को सुनवाइ २४ अक्टोबरलाई तोकिएको छ ।
प्रहरीले घटनास्थलमा हत्याका प्रमाणहरु नष्ट गर्न खोजिएका थुप्रै प्रमाण भेट्टाएको थियो । कार्पेटमा रगतको दाग देखिएको, वाथटवमा रगत बगेको, भट्टले वालमार्टबाट फरक साइजका तीनवटा चक्कु किनेर ल्याएको लगायतका प्रमाणहरु प्रहरीले अदालतमा बुझाइसकेको छ ।
त्यसबाहेक भट्टले योजनावद्धरुपमा श्रीमतीको हत्या गरेको एउटा बलियो प्रमाण प्रहरीले पेश गरेको छ । उनले श्रीमती मरेको कति समयपछि अर्को विहे गर्न मिल्छ भन्दै गूगल सर्च गरेको समेत खुलेको छ ।
