काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त बहादुर कुँवरले नेपाल प्रहरी स्थापनकालदेखि नै समाजमा हुने हर तरहका अपराधका घटना रोकथाम, नियन्त्रण र अनुसन्धान एवम् शान्ति सुरक्षा कायम राख्ने सन्दर्भमा राज्यको प्रमुख अंगको रूपमा कार्यसम्पादन गर्दै आइरहेको बताएका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौं भद्रकालीको नवनिर्मित कार्यालय भवन तथा भौतिक पूर्वाधारहरूको उद्घाटन समारोहमा उपस्थित सबैलाई धन्यवाद दिँदै आईजीपी कुँवरले उक्त कुरा बताएका हुन् ।
कार्यक्रममा प्रहरी महानिरीक्षक कुँवरले प्रहरीको भौतिक संरचनाहरू व्यवस्थित र गुणस्तरीय हुँदा यसले कर्मचारीको स्वास्थ्य र मनोबलमा सकारात्मक प्रभाव पर्ने तथा स्वच्छ कार्यमैत्री वातावरण निर्माण भई आम नागरिकमा हुने सेवा प्रवाह थप गुणस्तरीय एवम् प्रभावकारी बनाउन सहयोग पुग्ने बताए ।
नवनिर्मित सुविधा सम्पन्न भवनले राज्यको प्रमुख सुरक्षा निकायको दरिलो भौतिक उपस्थिति मात्र होइन, नेपाल प्रहरीका काम कारवाहीलाई थप नागरिकमैत्री एवम् परिष्कृत बनाउन समेत महत्वपूर्ण भूमिका निर्वाह हुने विश्वास उनले व्यक्त गरे ।
नयाँ भवनबाट सम्पादन हुने प्रहरी सेवा प्रवाह पनि थप उर्जामय, नागरिकमैत्री, नविन सोंच र उच्चस्तरको हुनुपर्ने र सम्पादन हुने कार्यशैलीले सेवा प्रवाहमा स्तरवृद्धिको सांगठनिक प्रतिबिम्बित गर्नुपर्नेमा उनले जोड दिए ।
समाज परिवर्तनको गति र नागरिकको चाहनालाई आत्मसाथ गर्दै प्रहरीको सेवा पनि थप जनमुखी, परिष्कृत, उत्तरदायी, सेवामुखी र सर्वस्वीकार्य बनाउन नेपाल प्रहरी प्रधान कार्यालय कटिवद्ध रहेको र समयसापेक्ष सांगठनिक विकास तथा प्रहरी सेवामा प्रभावकारीता वृद्धि गर्दै आन्तरिक सुदृढिकरण र शुद्धिकरण गर्ने उद्देश्य कार्यान्वयनलाई प्रमुख प्राथमिकतामा राखिएको उनको भनाइ थियो ।
काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक (डिआईजी) कृष्णहरि शर्माले स्वागत मन्तव्य व्यक्त गरेको उक्त कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक ई. राम कुमार चौधरीले भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए ।
नेपाल सरकारको नियमित बजेटबाट कुल १ अर्ब २६ करोड ७४ लाख ९६ हजार ९९ रूपैयाँ ८१ पैसाको लागतमा उक्त भवनहरू निर्माण कार्य सम्पन्न भएको हो । नवनिर्मित कार्यालयको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका हुन् ।
कार्यक्रममा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका मुख्य सल्लाहकार विष्णु प्रसाद रिमाल, आर्थिकर विकास सल्लाहकार युवराज खतिवडा, महान्यायाधिवक्ता रमेश वडाल, प्रतिनिधि सभा सदस्य, नेपाल सरकारका पूर्व मन्त्री एवम् अवकाश प्राप्त प्रहरी महानिरीक्षक ध्रुब बहादुर प्रधान, मुख्य सचिव लिलादेवी गड्तौला, कायममुकायम प्रधानसेनापति अशोकराज सिग्देल, प्रधानमन्त्रीज्यूको प्रमुख स्वकीय सचिव, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका आयुक्त, सशस्त्र प्रहरी महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, अवकाश प्राप्त प्रहरी महानिरीक्षकहरू, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, सहसचिवहरू, जिल्ला न्यायाधिश, काठमाडौंका प्रमुख जिल्ला अधिकारी, जिल्ला न्यायाधिवक्ता, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, संचारकर्मीहरू एवम् प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो ।
