हेटौंडा । मकवानपुरको हेटौंडा उमपहानगरपालिका–१० बसपार्कस्थित एक होटलमा हत्या गरिएको अवस्थामा युवतीको शव भेटिएको छ ।
हेटौंडा उपमहानगरपालिका–११ सरस्वती टोलकी ३० वर्षीया एलिसा न्यौपानेको होटलको कोठामा रगताम्मे अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।
आइतबार अपरान्ह ४ बजेतिर उनी त्यस होटलमा एक युवकसहित पुगेको बताइएको छ । एलिसासँगै आएका युवक भने बेलुका ८ बजेतिर नै कोठाबाट भागेका थिए ।
युवकले युवतीलाई दुई वटा बियरका बोतलसहित धारिलो हतियार प्रहार गरी हत्या गरेर भागेको प्रहरीले जनाएको छ ।
सोमबार बिहान अबेरसम्म पनि उक्त कोठा नखुलेपछि होटलवालाले प्रहरी र वडाध्यक्ष डाकेर कोठा खोल्दा युवती मृत अवस्थामा भेटिएकी थिइन् ।
युवकको पहिचान खुलेको छैन । होटलमा युवकले आफ्नो नाम र मोबाइल नम्बर गलत लेखाएको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ ।
