काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नवनिर्मित प्रहरी कार्यालयको भवन उद्घाटन गरेका छन् । सोमबार जिल्ला प्रहरी परिसर काठमाडौंको नवनिर्मित भवन उद्घाटन गर्दै उनले उक्त भवन तथा कार्यालय कक्षहरुको निरीक्षण समेत गरे ।
प्रधानमन्त्री ओलीले सो अवसरमा नवनिर्मित भवन आधुनिक तथा प्रविधियुक्त भएको चर्चा गर्दै भवन निर्माणमा प्रत्यक्ष एवं अप्रत्यक्ष योगदान पुर्याउने व्यक्तिहरूप्रति आभार प्रकट गरे । भवन प्राप्तीसँगै प्रहरीको कार्य सम्पादनमा पनि स्तर वृद्धि हुनुपर्नेमा उनले जोड दिए ।
नवनिर्मित कार्यालय भवनमा कार्यरत रहने प्रहरी कर्मचारीहरूले भवनको उपयोग हुनेगरी कार्यसम्पादन गर्नुका साथै त्यसको आवश्यक मर्मत सम्भार एवं जगेर्नाको लागि क्रियाशील रहन उनले निर्देशन दिए ।
कार्यक्रममा प्रहरी महानिरीक्षक वसन्त बहादुर कुवरले परिसरलाई आधुनिक एवम् व्यवस्थित बनाउनुका साथै सुरक्षित सेवा प्रवाह गर्ने हेतूले थप भौतिक पूर्वाधारहरुमा समेत जोड दिनुपर्ने बताए ।
कार्यक्रममा गृहमन्त्री, मुख्यसचिव, प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु, राष्ट्रिय वाणिज्य बैंकका उच्च पदस्थ अधिकृत एवम् वरिष्ठ प्रहरी अधिकृत तथा प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।
