काठमाडौं । रामेछापको दोरम्बा-शैलुङ गाउँपालिका- ३ लेकखर्क पोखरी गाउँमा गएराति पहिरोमा परेर बेपत्ता भएकामध्ये एक शिशुसहित २ जनाको शव फेला परेको छ ।
३० वर्षीया चण्डिका श्रेष्ठ र १८ महिने बालक आमुस श्रेष्ठको शव भेटिएको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक (इन्सपेक्टर) कौशल न्यौपानेले जानकारी दिए ।
‘पहिरोले तीनवटा घर पूर्णरुपमा बगाएको छ । त्यो घरका सबै बेपत्ता छन्,’ न्यौपानेले भने, ‘पहिरोले बगाएको ३ वटा घरमा कति मान्छे थिए खुलेको छैन । हाम्रो टोली भर्खरै घटनास्थलमा पुगेर उद्धारमा खटिएको छ ।’
दोरम्बा-शैलुङ गाउँपालिका- ३ लेकखर्क पोखरी गाउँमा गएराति साढे ३ बजे पहिरोले चार घर बगाएको उनले बताए । घटनास्थलमा रामेछापकी प्रमुख जिल्ला अधिकारी अनिता निरौलासहित तीनवटै सुरक्षा निकायका प्रमुख जाँदैछन् ।
घटनास्थल रामेछाप सदरमुकाम मन्थलीबाट झण्डै ५० किमी टाढा पर्छ ।
