काठमाडौं । अमेरिकामा बेपत्ता भएको भनिएकी २८ वर्षीया नेपाली नर्स ममता काफ्लेको हत्या पति नरेशको मास्टर बेडरुममै भएको निस्कर्षमा अमेरिकी प्रहरी पुगेको छ । अनुशन्धानका क्रममा नरेशको बेडरुममा रगतको आहाल नै फेला परेपछि प्रहरी यो निस्कर्षमा पुगेको हो ।
ममतालाई श्रीमानले नै हत्या गरेको भन्दै प्रहरीले सरकारी वकिलको कार्यालय मार्फत अदालतमा केही प्रमाणहरु बुझाउँदा यो कुरा पनि उल्लेख गरेको छ । प्रहरीले ब्लुस्टार प्रविधिको प्रयोग गर्दा घरको बेडरुम र अन्य विभिन्न स्थानमा रगतका टाटा भेटिएका छन् ।
अनुसन्धानका क्रममा एक स्थानमा रगतको आहाल नै फेला परेको प्रहरीको दावी छ । प्रमाण नष्ट गर्ने क्रममा त्यहाँ पछि सफा गरेको पाइएको छ । ओछ्यान र कार्पेटमा गुलाबी दागहरु देखिएका थिए । ब्लुस्टार प्रविधिको जाँच गर्दा ति दाग पनि रगतको टाटा भएको खुलेको प्रहरीले उल्लेख गरेको छ । बाथटबमा पनि रगत भेटिएको छ ।
प्रहरीको दावी अनुसार अनुसन्धानका क्रममा ममताको हत्यासँग जोडिएका पर्याप्त डिजिटल र फोरेन्सिक प्रमाण बरामद भएका छन् । प्रहरीले अदालतमा पेस गरेको कागजपत्रमा ममताको हत्या १५ साउन (३० जुलाई) मा घरभित्रै भएको र शवलाई घिसारेर घरबाट बाहिर निकालिएको प्रमाण भेटिएको उल्लेख छ ।
तर, नरेशले ममताको हत्यापछि शव कहाँ लुकाएका छन् भन्ने अझै पत्ता लाग्न सकेको छैन । त्यसैले प्रहरीले हत्याको आधिकारिक पुष्टि पनि गरिसकेको छैन । यता, भट्टले १५ साउन (३० जुलाई) मै स्थानीय वालमार्टबाट ३ वटा चक्कु र सरसफाइका सामान किनेर खुलेको छ । ति मध्ये दुईवटा चक्कु प्रहरीले घरमा फेला पारेको छैन ।
ममताको हत्यापछि उनी घर बेचेर भाग्ने योजनामा समेत रहेको खुलेको छ । तत्काल घर बिक्री गर्न दुई जनासँग कुरा पनि अघि बढाएको प्रहरीले पत्ता लगाएको छ । यही योजना अनुसार उनले ३ भदौ (१९ अगस्त) मा टेस्ला कार वेचेका थिए । तर, मनासस पार्क प्रहरीले ५ भदौ (२१ अगस्त) को बेलुकादेखि भट्टको घरलाई घेराबन्दी गर्दै १२ घण्टा खानतलासी गरेको थियो ।
त्यसपछि शव लुकाएको आरोपमा प्रहरीले बिहीबार उनलाई पक्राउ गरी शुक्रबार बिहान ८ वजेर ३१ मिनेटमा प्रिन्स विलियम काउन्टी जुभेनाइल एन्ड डोमेस्टिक रिलेसन कोर्टमा पेश गरेको थियो । यो घटनाको सुनुवाइ अब ८ कात्तिकमा (२४ अक्टोबर) मा हुने बताइएको छ ।
ममता गत साउन १६ (जुलाई ३१) देखि हराएकी हुन । उनी १८ साउन (२ अगस्ट) मा यूभीए हेल्थ प्रिन्स विलियम मेडिकल सेन्टरमा हाजिर नभएपछि सहकर्मीले अवस्था बुझिदिन प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीले ममता सार्वजनिक स्थानमा पछिल्लो पटक १३ साउन (२८ जुलाई) मा यूभीए हेल्थ प्रिन्स विलियम मेडिकल सेन्टरमा देखिएको जनाएको छ । १३ साउन (२८ जुलाई) मै उनले आफ्ना साथीसँग कुरा गरेको र १६ साउन (३१ जुलाई) मा श्रीमतीलाई अन्तिम पटक देखेको भट्टले प्रहरीलाई बयान दिएका थिए ।
