काठमाडौं । प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) किरण बज्राचार्यले काठमाडौं जिल्ला देशकै सबैभन्दा बढि जनसंख्या रहेको, VVIP तथा VIP हरुको बसोबास रहेको, Vital Installations रहेको तथा अपराधको समेत चापको कारणले सबैभन्दा बढि संवेदनशिल र चुनौतीपूर्ण रहेको हुँदा यहाँ कार्यरत प्रहरी कर्मचारीहरु थप जिम्मेवार भई उत्कृष्ठ ढंगले कार्यसम्पादन गर्नुपर्ने बताइन् ।
शुक्रवार जिल्ला प्रहरी परिसर काठमाण्डौको निरीक्षण तथा निर्देशन कार्यक्रममा जिल्ला प्रहरी परिसर काठमाण्डौ मातहतका वृत्त, प्रभाग तथा बिटका प्रमुखहरु लगायतका प्रहरी कमचारीहरुलाई निर्देशन दिदै उनले यस्तो बताएकी हुन् ।
नव निर्मित सुविधा सम्पन्न भवनबाट सेवा प्रवाह गर्दा भवन जस्तै सुन्दर सेवा प्रवाह गरी नागरिक मैत्री प्रहरी सेवा प्रवाह गर्दै गैर कानूनी क्रियाकलापलाई कडाईका साथ कानूनी दायरामा ल्याउन तथा भविष्यको चुनौतिलाई मध्यनजर गरी सूचना सङ्कलनलाई प्रभावकारी बनाउने, प्राप्त सूचनालाई प्रविधि र प्रहरीको प्रभावकारी परिचालन मार्फत ‘सुरक्षित उपत्यका, हाम्रो प्रतिवद्दता’ अभियान अन्तर्गत काठमाण्डौ उपत्यकालाई सुरक्षित बनाउन निर्देशन दिइन् ।
सोहि क्रममा परिसर काठमाण्डौ तथा सो मातहतमा कार्यरत प्रहरी कर्मचारीहरुलाई आपराधिक गतिविधिहरू प्रति कठोर भई संलग्न उपर कानूनी कारवाही गर्नुका साथै प्रहरीको सेवा प्रवाहलाई अझ प्रभाबकारी तथा उत्कृष्ट ढङ्गबाट सम्पादन गर्न निर्देशन दिइन् ।
त्यसैगरी हरेक समस्याको समाधान सामूहिक कार्यबाट हुने हुनाले सामुहिक कार्यमा जोड दिंदै परिणाममुखी तथा प्रविधि मैत्री अनुसन्धानमा तल्लिन हुन निर्देशन दिदै चाड पर्वको सिजन सुरु भएको र चाडपर्वको बेलामा आपराधिक कृयाकलापहरु घट्न सक्ने हुनाले चाडपर्व केन्द्रित सुरक्षा योजना बनाइ सोहि अनुरुप काम गर्न समेत भनिन् ।
कार्यक्रममा प्रहरी नायव महानिरीक्षक कृष्ण हरि शर्मा पोख्रेल, काठमाण्डौ उपत्यका प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक दिनेश राज मैनाली, जिल्ला प्रहरी परिसर काठमाण्डौका कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्त रजौरे, प्रहरी उपरीक्षकहरू, प्रहरी वृत्त तथा प्रभागका कार्यालय प्रमुखहरू, सिनियर प्रहरी अधिकृतहरू तथा अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।
