ललितपुर । सानेपामा एक महिलामाथि सामूहिक बलात्कारको प्रयास भएको खुलेको छ । बलात्कार प्रयास गरेको आरोपमा जिल्ला प्रहरी परिसर ललितपुरमा जबरजस्ती करणी उद्योगमा जाहेरी दर्ता समेत भएको छ ।
घटना ३१ असारको हो । रौतहट घर भएकी ती महिला सानेपास्थित श्रीमानको डेरामा आएकी थिइन् । साँझ ७ बजेतिर डेरामा पुग्दा त्यतिबेला उक्त कोठामा उनका देवर मात्रै थिए । श्रीमान् भने काममा थिए ।
त्यसपछि अर्का दुई व्यक्ति प्रवेश गरेर आफूमाथि बलात्कारको प्रयास भएको पीडित महिलाको दाबी छ । बलात्कार प्रयास गर्नेलाई आफ्ना देवरले समेत सहयोग गरेको उनको आरोप छ ।
पीडित महिलाका देवरका साथै रौतहटको विश्रामपुर घर भएका अन्दाजी ३२ वर्षीय सचिन यादव, रौतहटकै परोहा नगरपालिका–४ घर भएका अन्दाजी २२ वर्षका बिपुल यादव समेत तीन जना व्यक्तिले आफूमाथि बलात्कारको प्रयास गरेको पीडित महिलाको दाबी छ ।
बलात्कारको प्रयास भएका बेला प्रतिकार गर्दा शरीरका विभिन्न भागमा चोटपटक समेत लागेको उनले बताएकी छिन् । घटना भएको एक महिना बितिसक्दा समेत प्रहरीले आरोपितहरुलाई पक्राउ नगरेको उनको गुनासो छ ।
घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।
