काठमाडौं । बिहीबार दिउँसो भक्तपुरको गठ्ठाघरमा भएको सवारी दुर्घटनामा एक व्यक्तिको मृत्यु भएपछि ट्राफिक प्रहरीलाई विवादमा ल्याउन खोजिएको छ । ट्राफिक प्रहरीको कारण उक्त दुर्घटना भनिएको छ ।
दुर्घटनालगत्तै जम्मा भएको भीडले ट्राफिक प्रहरीको ज्यादती बढी भएको भन्दै नाराबाजी नै गर्यो । ट्राफिक प्रहरीले सडकमा जथाभावी ‘स्पीड चेकिङ’ गरेका कारणले दुर्घटना भएको भन्दै भीड ट्राफिक प्रहरीमाथि नै जाइलाग्यो ।
सडकमा गति मापन गर्न बसेका ट्राफिक प्रहरीको भागभाग भयो । आक्रोशित भीडले ट्रक तोडफोडसँगै आगजनीको प्रयाससमेत गर्यो । त्यसपछि आक्रोशित भीड र प्रहरीबीच ढुङ्गा हानाहान भयो । स्थिति निकै तनावग्रस्त बन्यो ।
त्यतिमात्र नभएर सामाजिक सञ्जालहरुमा समेत ट्राफिक प्रहरीको चर्को आलोचना भइरहेको छ ।
केही मिडियाहरुमा त ट्राफिक प्रहरीले राडार गनमार्फत सवारीको गति मापन गरिहेको र तीव्र गतिमा रहेको स्कुटरलाई बीच सडकमा रोक्दा पछाडिबाट आएको मालवाहक ट्रकले ठक्कर दिएको सूचना सम्प्रेषण भयो ।
मालवाहक ट्रकको ठक्करबाट अनाहकमा एक व्यक्तिको मृत्यु भएको भन्दै ट्राफिक प्रहरीलाई विवादमा ल्याउने काम जुन भयो, त्यो सरासर गलत रहेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथले जनाएको छ ।
कार्यालयका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) जीवनकुमार श्रेष्ठकाअनुसार दुर्घटनामा परेका दुवै सवारी साधनलाई ट्राफिक प्रहरीले कहिँकतै पनि रोकेको अवस्था छैन । बाहिर आएको जस्तो ट्राफिकले गर्दा दुर्घटना भएको भनिएको घटनामा सत्यता नरहेको उनको भनाइ छ ।
एसएसपी श्रेष्ठ भन्छन्, जतिबेला ती दुवै सवारी साधन कौशलटारबाट गठ्ठाघरतिर गइरहेको देखिन्छ । ती दुवै सवारीसाधनलाई चेकिगंमा खटिएका ट्राफिक प्रहरीले कहिँकतै रोकेका पनि छैनन् । जुनकुरा सीसीटिभी फुटेजमा देख्न सकिन्छ ।
सामाजिक सञ्जालहरुमा घटनास्थल ट्राफिक प्रहरीले सधैं चेकिगं गर्ने ठाउँ समेत नरहेको बताउँदै एसएसपी श्रेष्ठले भने, ‘दुर्घटनास्थल भन्दा वरै ट्राफिक प्रहरीको चेकिगं स्टेशन छ । उक्त ठाउँबाट ती दुर्व सवारी साधन कटिसकेको अवस्था छ ।’
पछिल्लो समय ट्राफिक प्रहरीले जथाभावी रुपमा चेकिगं खडा गरेर चिट काट्ने गरेको भन्ने आरोपमा सत्यता नरहेको दाबी गर्दै प्रमुख श्रेष्ठले यस्ता घटनाहरु हुन नदिनको लागि उपत्यका ट्राफिक प्रहरी जिम्मेवार रहेको बताए ।
ट्रकको लापरबाहीको कारण गठ्ठाघर दुर्घटनामा अनाहकमा एक व्यक्तिको ज्यान गएको घटनास्थल पुगेका एक ट्राफिक प्रहरी बताउँछन् । ती ट्राफिक भन्छन्, ‘तीब्र गतिमा आएको ट्रकले स्कुटरलाई नदेख्दा ठक्कर दिएको हुनसक्छ ।’
०००
हुनपनि तीब्र गतिको ट्रकले स्कुटरलाई ठक्करमात्र दिएन, झण्डै एक सय मिटर परसम्म स्कुटर चालकको शरीर घिसारेर लगेको थियो । क्षतविक्षत अवस्थामा थियो । टायरले किचिएको अवस्थामा रहेको शव पाँच घण्टापछि निकालिएको थियो ।
मृतक सुरुमा महिला भनिएपनि घटना भएको ६ घण्टापछि पुरुष रहेको पहिचान भएको थियो । मृतकको साथबाट ओखलढुङ्गाका ४५ वर्षीय उत्तम कोइराला नाममा जारी सवारीचालक अनुमतिपत्र भेटिएको छ ।
यद्यपी आफन्तबाट शव पहिचान नभएसम्म यकिन अझै भन्न नसकिने जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ । मृतकको शव परीक्षणका लागि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको प्रहरीले जनाएको छ ।
घटनालगत्तै ट्रक चालक तत्काल फरार भए । चालक फरारसँगै आक्रोशित भीड प्रहरीमाथि खनिएको थियो । तर, घटनामा संलग्न ट्रक चालक सर्लाही मलङ्गवा नगरपालिका–२ का ३२ वर्षीय सतेन्द्र श्रेष्ठ आफैं प्रहरी वृत्त बानेश्वर पुगेका थिए ।
हाल उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
