काठमाडौं । भक्तपुरको गठ्ठाघरमा दुर्घटना भएसँगै सुरु भएको प्रदर्शनमा जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक (एसपी) वेद विष्टसहित ३ जना घाइते भएका छन् ।
घटनामा एसपी विष्ट, प्रहरी सहायक हबल्दार बहादुरे राउत र मध्यपुर थिमी नगरपालिका–३ बस्ने सौगात सापकोटा घाइते भएको प्रहरीले जनाएको छ ।
काठमाडौँबाट भक्तपुर जाँदै गरेको ना.६ ख २१७३ नम्बरको भाडाको ट्रकले ठक्कर दिँदा बा.४९ प ८९४४ नम्बरको स्कुटर चालकको मृत्यु भएको छ । दुर्घटनापछि भेला भएका व्यक्तिहरूले सो क्षेत्रमा प्रदर्शन गरेका थिए ।
प्रदर्शन साम्य पार्न भक्तपुरका एसपी विष्टको कमान्डमा ११८ जना, काठमाडौँबाट १३० जनाको थप मद्दत र सशस्त्र प्रहरीका १२० जना सुरक्षाकर्मी घटनास्थलमा खटिएको थियो ।
प्रहरीले २२ राउन्ड अश्रुग्याँस प्रहार गरेर स्थिति नियन्त्रणमा लिएको छ । प्रदर्शनकारीले आक्रमण गर्दा गठ्ठाघरमा रहेको प्रहरी बिटमा क्षति पुगेको छ ।
