काठमाडौं । प्रहरी वृत्त महाराजगञ्जले इलामका भक्तबहादुर लिम्बु र सर्लाहीका मधुसुदन झालाई ठगी गरेको आरोपमा पक्राउ गरेको छ । पक्राउ परेका उनीहरूलाई लिखत कीर्ते मुद्दा दायर गरेको छ ।
उनीहरुले नेपाल प्रहरीका महानिरीक्षक (आइजीपी) को नाममा ठगी गरेको खुलेको छ । आइजीपीको नाम लिएर पत्र कीर्ते गरेर ठगी हुन थालेको पाइएको हो ।
तालिमबाट भागेका एक प्रहरी जवानलाई पुर्नबहाली गराउने भन्दै उनीहरुले महानिरीक्षकको पत्र कीर्ते गरी ठगी गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एक प्रहरी अधिकृतले बताए ।
प्रहरीको प्राविधिक जवान पदमा भर्ना भई पछि तालिमबाट भागेका सर्लाही ईश्वरपुरका निवाश चौधरीलाई पर्नुवहाली गरी गरिदिने भन्दै उनीहरुले तीन लाख ५० हजार रुपैयाँ ठगी गरेका हुन् ।
त्यसका लागि उनीहरुले चौधरीलाई तालिम गराउन भने महानिरीक्षकको सचिवालयले लेखेको पत्र तयार गरेका थिए । त्यतीमात्र होइन महानगरीय प्रहरी शिक्षालयको नियुक्तिपत्र समेत कीर्ते गरेका थिए ।
२०७८ सालमा जवानमा भर्ना भएका चौधरीले दुई वर्षपछि तालिम गरेका थिए । तालिममा गाह्रो भएपछि उनी भागेका थिए ।
प्रहरीले उनलाई सेवाबाट हटाएको थियो । पछि उनका बुबाले प्रहरीमा जागिर जोडाउने प्रयास गरी चौधरी परिवार ठगिएको हो ।
