काठमाडौं । नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को सरुवा तथा पदस्थापनको प्रस्ताव गरिएको छ ।
प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार हालै बढुवा सिफारिस भएका एआईजी रामदत्त जोशीको पदस्थापनसँगै थप तीन एआईजीको सरुवा प्रस्ताव गरिएको हो ।
स्राेतका अनुसार नवनियुक्त एआईजी जोशीलाई नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभाग, नक्सालमा पदस्थापन सिफारिस गरिएको छ भने काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरी (मेट्रो) र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुखको पनि सरुवा गरिएको छ ।
जसअनुसार हाल मेट्रो, रानीपोखरीका प्रमुख एआईजी दिपक थापालाई सीआईबी, लाजिम्पाट र नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभागकी एआईजी किरण बज्राचार्यलाई उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा पठाइएको छ ।
थापालाई सीआईबीमा पठाइएसँगै त्यहाँस्थित श्यामलाल ज्ञवाली नेपाल प्रहरी प्रधान कार्यालय, प्रदेश समन्वय विभाग, नक्सालमा ल्याइएको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले गृह मन्त्रालयबाट पठाइएको प्रस्तावमाथि छलफलसँगै निर्णय गरेको हो ।
