कृष्ण यादव
वीरगन्ज । यातायात कार्यालय वीरगन्जमा पैसा लिदै लाइसेन्स वितरण गर्ने गरेको रहस्य खुलेको छ । सवारी चालक पत्र बनाउनको लागि आएका सेवाग्राहीसँग बिचौलीयाहरुले मोटो रकम लिएर मात्रै लाइसेन्स दिदै आएका छन् ।
यातायात कार्यालयका प्रमुख कमलराज गौतम कार्यालयभित्र करारका कर्मचारी र बिचौलियाहरु प्रयोग गरि अवैध रुपले लिखित र ट्रायल परिक्षाको भिडियो इडिटिङ गरि ठुलो रकम लिई पास गराउने गरेको स्रोतले जनाएको छ ।
यातायात कार्यालय पर्साका प्रमुख गौतमले परिचालन गरेका बिचौलियाहरुले सेवाग्राहीसँग छिटो भन्दा छिटो लाइसेन्स बनाईदिन्छु भन्दै हजारौ रुपैयाँ लिने गरेको सेवाग्राहीहरु बताउँछन् । त्यसरी उठाएको रकम गौतमलाई बुझाई नयाँ लाइसेन्स दिने गरेको स्रोतको दाबी छ ।
त्यसैगरि यातायातमा भइरहेको भ्रस्टाचार रोक्नको लागि ट्रायल सेन्टरको ग्राउण्डमा सिसि क्यामेरा जडान गरे पनि कर्मचारीहरुले भिडियो इडिट गरि भिडियो हटाई लाइसेन्स दिने गरेको स्रोत बताउँछ ।
त्यसैगरि बिहीवार भएको A, K, B, C, C1 र मेसिनरी नयाँ तथा थपको लिखित परीक्षामा ९१८ जना परीक्षार्थीहरुले परीक्षा दिएकोमा ५७० जना पास भएका छन् ।
जसमध्ये १७५ जना परीक्षार्थीहरुले आफ्नो क्षमताले लेखेर पास भएका छन् भने ३९५ जना परीक्षार्थीहरुलाई रकम लिएर पास गराइएको र शुक्रबार भएको ट्रायल परीक्षामा सबभन्दा कम पास भएपनि केही दिन पछि आउने रिजल्टमा पैसा लिएर बढि भन्दा बढि पास गराउने योजना बनाएको समाचार स्रोतको दाबी छ ।
मोटरसाइकलको परीक्षार्थीहरुसँग जनही १० हजार, कारको परीक्षार्थीहरुसँग २५ हजार र टेम्पो, ई-रिक्साका परीक्षार्थीहरुसँग १३ हजारको दरले रकम लिई परीक्षा समितिले पास गराएको स्रोतको दाबी छ । यातायात कार्यालय वीरगन्जका प्रमुख गौतमले स्वयम आफैले मन्त्रालयदेखि पत्रकार हुँदै प्रहरीसम्म मिलाउने जिम्मा गरेका छन् ।
नारायणीमा पर्सा, बारा, रौतहट, मकवानपुर, चितवन गरी ५ जिल्लाका सेवाग्राही आउँछन् । भद्रगोल व्यवस्थापनले सेवाग्राहीलाई निकै सास्ती खेप्नु परेको एक सेवाग्राही बताउँछन् । सबै काममा कर्मचारी पैसाको कुरा गर्ने उनी दावी गर्छन् ।
यसरी नै बिहिवार भएको लिखित परिक्षा र शुक्रबार भएको ट्रायलको परीक्षामा धेरै जस्तो मान्छे फेल भएपनि बिचौलियाहरुमार्फत गौतमले मोटो रकमको नजराना बुझि पास गराएको तथ्यांक प्रमाणको लागि हामीसँग सुरक्षित रहेको छ ।
वीरगन्जमा केही दिन पहिला यातायातका अधिकृत कमल गौतम हुँदा विदेशी लाइसेन्स भएको व्यक्तिको नेपालीकरण गरेको अभियोगमा विभागको कारबाहीमा परेका थिए । गौतमले अरु कुनै ठाउँमा गएपनि पैसाको बलमा पटकपटक यातायात कार्यालय वीरगन्ज आउने गरेको एक यातायात कर्मचारीले बताए ।
दृष्टिबिहीनलाई नै लाइसेन्स वितरण गरेको रेकर्ड यसअघि नै फेला परिसकेको छ । घुस लिदालिदै कर्मचारी पक्राउ पर्नु नारायणी यातायात कार्यालयमा सामान्य घटना जस्तै छन् ।
यातायात व्यवस्था कार्यालय वीरगन्जका तत्कालीन प्रमुख उमेश रेग्मीले सो कार्यालयमा हुने बेथिति रोक्न प्रयास गरेपनि सोर्स र पहुँचको बलमा पुन यातायात कार्यालय वीरगन्जका प्रमुख भई बिचौलियाहरु मार्फत रकम बुझि धमाधम लाइसेन्स दिदै आएका छन् ।
यस्ता गतिविधि भइरहेको हुँदा सम्बन्धित निकाय तथा अख्तियारको ध्यान जान अति आवश्यक देखिएको छ ।
