काठमाडौं । गृहमन्त्री रमेश लेखकले प्रहरीको सरुवा सामान्य र नियमित प्रक्रिया भएको बताएका छन् । राष्ट्रियसभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिले राखेको छलफल कार्यक्रममा बोल्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन् ।
गृहमन्त्री लेखकले डीआईजी मनोज केसीको दुई महिनामै सरूवा गरिएको विषयलाई बचाउ गर्दै प्रहरी कर्मचारी सरूवा गर्ने निरन्तर चलिरहने प्रक्रिया भएको बताए । गृहमन्त्री लेखकले डीआईजी केसी योग्य भएकै कारणले प्रहरीलाई तालिम दिने ठाउँमा पठाइएको बताए ।
गृहमन्त्री लेखकले भने,‘जुन पदको सरूवाको कुरो छ- उहाँ अत्यन्त योग्य मानिस हो र योग्यतम ठाउँमा पुग्नु भएको छ । किनभने प्रहरीलाई तालिम दिने भन्या त सबैभन्दा बढी पढेलेखेको चाहियो नि ! प्रहरी राम्रो बनाउनु पर्यो। अनि राम्रो प्रहरीलाई राम्रो तालिम दिन राम्रो मान्छे पठाउँदा के समस्या भयो ?’
नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका बेचन झा र प्रतीक थापालाई पक्राउ गर्नमा डीआईजी केसीको भूमिका थियो । थापा तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ का छोरा हुन् । दुई जनालाई प्रहरीले असार १४ गते शुक्रबार पक्राउ गरेको थियो ।
तत्कालीन गृहमन्त्री एवं कांग्रेस नेता बालकृष्ण खाणसमेत मुछिएको यस मुद्दाको अनुसन्धान गर्दा मनोज केसी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा प्रमुख थिए ।
उनकै नेतृत्वको टोलीले खाणलाई गत वर्ष वैशाख २७ गते काठमाडौंस्थित निवासबाट पक्राउ गरेको थियो । डीआईजी केसीले प्रतीक र बेचनलाई पक्राउ गरेपछि विशेष ब्यूरोमा आएको दुई महिना नपुग्दै उनको सरुवा भएको आरोप लाग्दै आएको छ ।
नेपाल प्रहरी प्रधान कार्यालयमा रहेका डीआईजी केसीलाई गत बुधबार गृहमन्त्री लेखकले प्रहरी प्रशिक्षण तालिम केन्द्र महाराजगन्जमा सरूवा गरेका थिए । डीआईजी केसी विशेष ब्युरोमा गएको दुई महिना पनि भएको थिएन ।
