काठमाडौं । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एआईजी दिपक थापाले सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै थप प्रभावकारी ढंगबाट सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिएका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका सम्पूर्ण शाखाहरु, हिरासत कक्ष, व्यारेक लगायतको निरीक्षण गर्दै एआईजी थापाले यस्तो बताएका हुन् ।
उनले जिल्ला प्रहरी परिसर काठमाडौंमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारी तथा मातहत प्रहरी वृत्त र प्रभाग प्रमुखहरुलाई मनसुनको प्रभावले आई परिरहेको विपदजन्य घटनाको विश्लेशण गरी तत्काल उद्दार तथा राहत बितरण कार्यमा लग्न निर्देशन दिए ।
एआईजी थापाले राज्यद्वारा निर्दिष्ट कानूनी मूल्य र मान्यतालाई आत्मसाथ गर्दै अपराध रहित समाज निर्माणमा जोड दिनुपर्ने बताए । उनले कार्यालयबाट प्रवाह हुने सेवालाई स्वच्छ, तटस्थ, निष्पक्ष र पीडित मैत्री बनाउन समेत आग्रह गरे ।
सेवाग्राहीसँग सभ्य र शिष्ट व्यवहार नेपाल प्रहरीको सम्ममा भएको उनको भनाई छ । एआईजी थापाले मानव अधिकारको संरक्षण र प्रवर्धन गर्दै प्रहरी काम कारवाहीलाई अगाडि बढाउन निर्देशन दिए ।