काठमाडौं । प्रहरी महानिरीक्षक मातहत रहने केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) प्रमुख श्याम ज्ञवालीले संगठनको दुरुपयोग गरेको खुलासा भएसँगै उनीमाथि प्रहरी प्रधान कार्यालयले छानबिनको तयारी थालेको छ ।
प्रहरी संगठनको दुरुपयोग गरेको र चेन अफ कमाण्डलाई तोडेर अनुचित लाभका लागि काम गरेको भन्दै प्रहरीले उनीमाथि कारवाहीको तयारी गरेको हो । लामिछानेको सत्ता बहिर्गमनपछि प्रहरीले नै अहिले ज्ञवालीमाथि छानविन सुरु गरेको बताइन्छ ।
ज्ञवालीले अनुसन्धानमा बदनियत राखेको भन्दै प्रहरी प्रधान कार्यालयले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) टेकप्रसाद राईको नेतृत्वमा छानबिन गरेको प्रहरी स्रोतले जनाएको छ ।
प्रहरी महानिरीक्षक (आइजीपी) बन्ने लोभमा संगठनको चेन अफ कमाण्डलाई ध्वस्त पार्न खोज्नुका साथै राजनीतिक शक्तिको आडमा ज्ञवालीले पदको दुरुपयोग गरेका हुन् । जबकी उनी आगामी भदौमा अवकाशमा जाँदैछन् ।
तत्कालीन गृहमन्त्री रवि लामिछानेको आडमा ज्ञवालीले पदीय जिम्मेवारीको दुरुपयोग गरेर अनुचित लाभका लागि व्यापारी, राजनीतिज्ञहरुलाई तर्साउने काम गरेको बताइएको छ ।
प्रहरीको व्यावसायिक मर्यादालाई नै धुमिल बनाउने गरी ज्ञवालीले शक्तिको व्यापक दुरुपयोग गरेको आरोप छ । कुनै प्रमाण र तथ्य भन्दा प्रतिशोधका आधारमा व्यक्ति पक्राउ गर्नेदेखि अनुसन्धानका नाममा दुख दिने काम ज्ञवालीले गरे ।
उनले प्रहरी नेतृत्वसँग कुनै पनि समन्वय नगरी गृहमन्त्रालयमा बसेर प्रहरी संगठन चलाउन खोजे पनि । गृहमन्त्री लामिछानेसँग मिलेर आईजीपी बसन्त कुँवरलाई नै बाइपास गरेर प्रहरी संगठन चलाउन खोजेको समेत आरोप उनीमाथि लागेको छ ।
त्यतिमात्र नभएर सहकारी ठगी प्रकरणमा लामिछानेको संलग्नतासम्बन्धि प्रहरीले गरिरहेको अनुसन्धानलाई कमजोर बनाउँदै प्रमाण नष्ट गर्न ज्ञवालीले प्रमुख भूमिका निर्वाह गरेको आरोप छ ।
व्यक्तिको गोपनीयता र उसको प्रतिष्ठालाई धुलिसात बनाउने लामिछानेको बलियो सारथी बनेर ज्ञवालीको संगठनको व्यापक दुरुपयोग गरेनन् प्रहरी अनुसन्धानलाई नै ढिसमिस पारिदिए भने प्रमाणहरु पनि नष्ट गर्न सक्रिय भूमिका खेले । जसको अहिले प्रहरीभित्र व्यापक चर्चा छ ।
जनताको अर्बौं रकम ठगी गरेको आरोप लागेका लामिछानेलाई जोगाउन सिंगो संगठनलाई नै बदनाम गरेको भन्दै ज्ञवाली कारवाही गर्नुपर्ने माग प्रहरीका उच्च अधिकारीले गर्दै आएका थिए । सोहीअनुरुप कारबाहीको तयारी भएको हो ।
गृहमन्त्री बनेलगत्तै लामिछानेले सुरुमै सिआइबी प्रमुख किरण बज्राचार्यलाई हटाएर ज्ञवालीलाई ल्याए । र ज्ञवालीलाई सिआइबी प्रमुख बनाउँदा लामिछानेले भनेका थिए, सहकारीमा मलाई जोगादिनुस्, तपाईलाई आइजीपी म बनाउँछु ।
गृहमन्त्रीबाटै यस्तो प्रस्ताव आएपछि सीआइबी प्रमुखको नेतृत्व पाएका ज्ञवालीले आइजीपीलाई हटाएर आफु प्रहरीको नेतृत्वमा आउन निकै प्रयास गरे । उता लामिछानेले प्रधानमन्त्रीदेखि सत्तारुढ दलभित्र लबिइङ गरेका थिए । तर, सोचेजस्तो सजिलो थिएन, अन्ततः उनीहरुको केही लागेन ।