काठमाडौं । हाइकिङ गर्न गएका व्यक्तिहरूमाथि लुटपाट गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका-७ घर भई कलंकी बस्दै आएका ५६ वर्षीय रामबहादुर लामा भनिने धनबहादुर स्याङतान रहेका छन् ।
काठमाडौं उपत्यका वरपरका डाँडाहरूमा हाइकिङ गर्न गएका व्यक्तिहरूमाथि लुटपाट गरेको आरोपमा उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो ।
उनी हाइकिङ गर्नेमाथि लुटपाट गर्ने गिरोहका मुख्य नाइके रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ । दहचोकको कालुपाँडे विन्दावासिनी क्षेत्रमा खुकुरी देखाई लुटपाट गरेको अवस्थामा शनिबार उनलाई पक्राउ गरिएको थियो ।
उनको साथबाट दुई थान खुकुरी र विभिन्न गरगहनासमेत बरामद भएको छ । लुटपाट गरेर नागार्जुनको हर्सनटार हुँदै कलंकीतर्फ आउँदै गरेको अवस्थामा उनलाई प्रहरीले पक्राउ गरेको थियो ।
पक्राउ परेका लामाको साथवाट दुई थना खुकरी, सुनको बेरुवा औठी, सिक्री, रिङ, ब्रासलेटलगायतका गरी करिब ११ लाख बराबरको गरगहना बरामद भएका छन् । साथै १३ हजार ४ सय नगद पनि बरामद भएको छ ।
