काठमाडौ । कैलालीको अत्तरियामा अनैतिक कार्यमा संलग्नहरु धमाधम पक्राउ पर्न थालेका छन् । शुक्रबार मात्रै इलाका प्रहरी कार्यालय मालाखेतीले एक जोडीलाई रंगेहात समात्न सफल भएको छ ।
गोदावरी नगरपालिका–१ मा रहेको पुजा होटलबाट अनैतिक कार्यमा संलग्न एक जोडी पक्राउ परेका हुन् । ३६ वर्षीय एक पुरुष र २१ वर्षीया एक महिला पक्राउ परेको प्रहरीले जनाएको छ ।
अत्तरियामा अनैतिक कार्य बढ्न थालेपछि इलाका प्रहरी कार्यालय मालाखेतीले मात्र नभएर जिल्ला प्रहरी कार्यालयले समेत विशेष निगरानी बढाएको छ । इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख गंगाबहादुर थापाका अनुसार यस्तो कार्य जताजतै भइरहेको गुनासो छ ।
यौन कार्यबाटै आम्दानी गर्ने र त्यसैबाट आफ्नो दैनिकी चलाउनेहरु पनि फेला परेको उनले बताए । ‘यहाँ यस्तोसम्म देखियो की आमा, छोरी र त्यसपछि छोरीबाट जन्मिएकी नातिनी पनि यसै कार्यमा लागेको पाइएको छ ।’
छोराछोरी हुर्काउन आमाले यो पेशा अंगालिन, अनि आमा बुढी भएपछि छोरीले आमा पाल्न यही पेशा रोजिन भने हजुरआमा र आमाको सिको सिकेर नातिनीले पनि यस्तो कर्म गरेकोसम्म पाइएको छ । `छोरीलाई बा को हो ? भन्नेसम्म थाहा छैन,´ उनले भने ।
प्रहरीको एक्लो प्रयासले यो समस्या न्युनिकरण हुनसक्छ, तर समाधान हुन सक्ने अवस्था छैन् । इलाका प्रहरी कार्यालय मालाखेतीले आर्थिक वर्ष २०८०/८१ मा अत्तरियाबाट अनैतिक कार्यमा संलग्न ३० महिला र २८ पुरुषलाई नियन्त्रणमा लिएको अभिलेख छ ।
सो वर्षको अन्तिम तीन महिनाको अवधिमा मात्र १६ महिला २० पुरुष र एक जना तेस्रोलिङ्गी गरेर ३७ जना नियन्त्रणमा लिएको प्रहरी प्रमुख थापाले बताए । अशिक्षा, बेरोजगारी, श्रीमानबाट धोका पाएका र कतिपय देखासिकीमा परेर महिलाहरु यस्तो कार्यमा लागेको पाइएको छ ।
एक पटक प्रहरीको फन्दामा परेर छुटेकाहरु पनि फेरीफेरी पक्राउ पर्ने गरेको समेत पाइएको छ ।