काठमाडौँ । साँखुबाट पठाओ चालकको मोटरसाइकल, मोबाइल र नगद लुटपाट गर्ने २ जना पक्राउ परेका छन् । प्रहरी प्रभाग साँखुले पठाओ चालक भक्तबहादुर खड्कालाई लुटपाट गर्ने वर्ष २३ का राहुल तामाङ र वर्ष २१ का मनिष कोइरालालाई पक्राउ गरेको हो ।
उनीहरुले यही साउन ९ गते बिहान ६ बजे काठमाडौँको शंखरापुर नगरपालिका वडा नम्बर-८ नाउपाखा सामुदायिक वनमा मोरङ लेटाङ नगरपालिका वडा नम्बर-९ का खड्कालाई लुटपाट गरेका थिए ।
ललितपुर पाटन अस्पताल नजिकै बस्ने भक्तबहादुर खड्काले पठाओ गरी यात्रु लिई शंखरापुर नगरपालिका नाउपाखा सामुदायिक वनमा पुगेपछि तामाङ र कोइरालाले चक्कु देखाई उक्त पठाओ चालकको बाप ०२–०४३ प ९१२५ नम्बरको मोटर साइकल, नगद रु.६०००।– र मोबाइल १ थान लुटपाट तथा चोरी गरी फरार भएकोमा सोही दिन निजहरूलाई नियन्त्रणमा लिई कानुन बमोजिम थप कारबाहीका लागि तालुक कार्यालयमा पठाइएको साँखु प्रहरी प्रभावका इन्चार्ज प्रहरी निरीक्षक नवीन चुदालीले जानकारी दिए ।
सुनसरीको धरान उपमहानगरपालिका वडा नम्बर १५ घर भई हाल काठमाडौँको साँखुमा बस्ने राहुल तामाङ र उदयपुर नगरपालिका वडा नम्बर ५ घर भई हाल साँखुमा बस्दै आएका मनिष कोइराला पक्राउ परेका हुन् ।
