काठमाडौं । नेपाल प्रहरी अस्पतालमा कार्यरत प्राविधिकतर्फमा वरिष्ठ उपरीक्षक (एसएसपी) डा. दीपक श्रेष्ठले प्रहरी नेतृत्वलाई नालायक भन्दै टिप्पणी गरेका छन् । महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरलाई नालायक भन्दै श्रेष्ठले टिप्पणी गरेका हुन् ।
पद रिक्त हुँदा पनि गृहमन्त्री रवि लामिछाने र आईजीपी कुँवरले बढुवा गर्न नचाहँदा प्राविधिकतर्फ स्वास्थ्य उपसमूहका एसएसपी श्रेष्ठ र डा. सुवास आचार्य प्रहरी नेतृत्वप्रति खनिएका हुन् ।
बढुवा नभई घर जान बाध्य भएका एसएसपी श्रेष्ठले आईजीपी कुँवरलाई ‘नालायक सीईओ’ भन्दै नेपाल प्रहरीलाई ‘प्राइभेट कम्पनी’ बनाएको आरोप पनि लगाएका छन् ।
‘सबै नालायक छैन । अहिलेको सीईओ नालायक हो । अनि यसले सबैलाई नालायक नै देख्छ । जुन यस्को बोलि र व्यबहारबाट नै देखिन्छ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘भेट्ने बित्तिकै जंगिने जंगली ।’
एसएसपी श्रेष्ठले नेपाल प्रहरी हाँकेका केही पूर्वआईजीपीहरूको नाम लेखेर उनीहरूले जोगाएको प्रहरीको छवि कुँवरले सिध्याएको आरोप पनि लगाएका छन् ।
उनले आगामी दिनमा नेपाल प्रहरीमा व्यवसायिक आईजीपी आउने आशा पनि व्यक्त गरेका छन् ।
दुवैजना (श्रेष्ठ र आचार्य) ६ वर्षे पदावधि पुरा गरेर आज राति १२ बजेबाट अवकाशमा जान बाध्य भएका छन् । श्रेष्ठ र आचार्य दुवै २०७५ असार १२ गते एसएसपीमा बढुवा भएका थिए ।
५० दिनदेखि नायब महानिरीक्षक (डीआईजी)को दरबन्दी रिक्त हुँदा पनि आईजीपी कुँवरले उनीहरूको फाइल अघि नबढाएको आरोप छ । यद्यपी, अहिले उनीहरूको बढुवा भएको भए डीआईजी बन्थे र थप पाँच वर्ष प्रहरीमै रहन्थे ।
श्रेष्ठ नेत्र रोग विशेषज्ञ हुन् भने आचार्य नाक, कान, घाँटी रोग विशेषज्ञ हुन् ।
यता, प्रहरी प्रधान कार्यालयले भने उनीहरूले बढुवाका लागि आवश्यक तालिमहरू नलिएको बताउँदै आएको छ । सोहीकारण उनीहरुलाई बढुवा नै गर्न नमिल्ने प्रधान कार्यालयको भर्ना छ ।
प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार उनीहरुले बढुवाका लागि गर्नु पर्ने तालिम समेत नगरेकाले बढुवा नगरीको प्रहरी प्रधान कार्यालय स्रोत बताउँछ ।
‘उहाँहरुले बढुवाका लागि चाहिने सेवाकालिन तालिम नै गर्नु भएन । बाहिर तालिम गरेको कागजात ल्याएर पेश गर्नु भएको थियो । संगठनको स्वीकृत बगेरका त्यसलाई तालिमलाई मान्यता दिने कुरा भएन । संगठनको नीति अनुसारको तालिम उहाँहरुले नगरेकाले बढुवा प्रक्रिया अघि नबढाइएको हो’ प्रहरी प्रधान कार्यालय स्रोतले भन्यो ।
