काठमाडौं । पहिरोले घर पुरिँदा ज्यान गुमाएकी कास्की मादी-५ की आयुष्मा रानाभाटको परिवारलाई जिल्ला प्रशासन कार्यालय कास्कीले राहत हस्तान्तरण गरेको छ ।
प्रमुख जिल्ला अधिकारी (सिडिओ) भरतमणी पाण्डे नेतृत्वको टोली घटनास्थलमै पुगी बिहीबार जिल्ला विपद व्यवस्थापन कोषबाट २ लाख रुपैयाँ हस्तान्तरण गरेको हो ।
नेपाल सरकारको विपद्का घटनामा परी मृत्यु भएका व्यक्तिलाई राहत उपलब्ध गराउने सम्बन्धी मापदण्ड, २०७७ बमोजिमको रकम हस्तान्तरण गरिएको प्रजिअ पाण्डेले बताए ।
मंगलबार राति पहिरोले घर पुरिँदा १३ वर्षीया आयुष्माको घटनास्थलमै निधन भएको थियो । सँगै सुतेकी हजुरआमा ७० वर्षीया लालमाया बञ्जारको भने सकुशल उद्धार गरिएको थियो ।
यस्तै मंगलबार राति नै पोखरा महानगरपालिका– २७ आरुपाटा निवासी हरि सुनारको कच्ची घरको पछाडिबाट माटोको ढिस्को खस्दा ३ वर्षीय अनमोल सुनारको निधन भएको छ ।
उनको परिवारबाट कागजात आउनेवित्तिकै राहत उपलब्ध गराइने प्रजिले पाण्डेले बताए । उनले भने, ‘सुनारको डकुमेन्ट आउनै बाँकी छ, आउनेबित्तिकै सम्बन्धित परिवारलाई रकम उपलब्ध गराउँछौं ।’
अनमोलकी आमा रितु सुनारको गण्डकी मेडिकल कलेजको आइसियुमा उपचार भइरहेको छ । प्रजिअ पाण्डेसहित जिल्ला सुरक्षा समितिका पदाधिकारीको टोलीले मंगलबार अस्पताल पुगी उनको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएको छ ।
साथै कलेजसँगको समन्वयमा घाइतेको निःशुल्क उपचारको प्रबन्ध गरिएको प्रजिअ पाण्डेले बताए । कास्कीमा बाढी पहिरोको उच्च जोखिम भएकाले सतर्क रहन प्रशासनले आग्रह गरेको छ ।
