काठमाडौं । रास्ट्रसेवक नेपाल प्रहरीका कर्मचारीहरुले विगत २ महिनादेखि तलब पाउन सकेका छैनन् । अर्थ मन्त्रालयले समयमै बजेट निकासा नगर्दा उनीहरुले तलब नपाएका हुन् ।
बैशाख र जेठ महिनाको तलब उनीहरुले नपाएका हुन् । जोखिमपूर्ण पेशामा आवद्ध प्रहरीलाई नियमित तलब नआउँदा दैनिकी टार्न समेत समस्या भएको प्रहरी कर्मचारीहरु बताउँछन् ।
देशभर सबै स्थानमा नभएपनि हजारौं प्रहरी कर्मचारीले तलब नपाएका हुन् । तर नेपाल प्रहरीका प्रवक्ता डीआईजी दानबहादुर कार्कीले तलब नियमित पाइरहेको दाबी गरे ।
नेपाल प्रहरीमा झण्डै ८० हजारको दरबन्दी छ । प्रहरीमा सबैभन्दा थोरै रिक्रुटले २१ हजार ४८० रुपैयाँ तलब पाउँछन् भने आईजिपीले ७२ हजार ८२ रुपैयाँ प्राप्त गर्छन् ।
सशस्त्र प्रहरी बलमा पनि सबैले तलब नपाएको चर्चा छ । तर सशस्त्रका प्रवक्ता डीआईजी कुमार न्यौपानेले नियमित तलब पाइरहेको बताए ।
