रौतहट । नेपाल-भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरी सीमा सुरक्षा गण रौतहटबाट खटिएको टोलीले आइतबार राति एकथान नलकटुवा पेस्तोलसहित भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ परेकालाई सोमबार सार्वजनिक गरेको छ ।
उनको पृष्ठभूमिबारे प्रहरीले अनुसन्धान थालेको छ । भारत बिहार सीतामढी जिल्ला बैरगनिया–३ असोगीका २१ वर्षीय राहुल रामलाई एकथान घरेलु नलकटुवा पेस्तोलसहित पक्राउ गरिएको सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी विक्रम हुमागाईंले बताए ।
एसपी हुमागाईंका अनुसार गौर नगरपालिका-२ महादेवपट्टि छेउस्थित नेपाल-भारत सीमा स्तम्भ नजिक सशस्त्र प्रहरीको छड्के चेक प्वाइन्ट हुँदै आइतबार मध्यरातमा भारतबाट नेपाल आउँदै गरेको अवस्थामा रामलाई हतियारसहित पक्राउ गरेको हो ।
छड्के टोलीले रामले चलाएको मोटरसाइकल जाँच गर्दा टुलबक्स भित्र लुकाई राखेको हतियार बरामद गरेको एसपी हुमागाईंले जानकारी दिए । रामसँगै मोटरसाईकलमा सवार अर्का एक भारतीय भने भारत तिरै भागेका थिए ।
सशस्त्र प्रहरीले बरामद पेस्तोल, एकथान मोबाइल र मोटरसाइकलसहित आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय गौरमा बुझाइएको एसपी हुमागाईंले बताए ।
‘हामीले सीमा क्षेत्रमा निगरानी र जाँच अभियान तीव्र बनाएका छौं,’ एसपी हुमागाईंले भने,‘सीमा क्षेत्रबाट हुने जुनसुकै अपराधका घटना रोक्न हरसम्भव प्रयास गरिरहेका छौं ।’
