मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले ५८ कार्टुन भेप (इलेक्ट्रिक चुरोट) सहित पाँच जनालाई पक्राउ गरेको छ ।
बागमती प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको टोलीले विशेष सूचनाका आधारमा बिहीबार राति ८ बजे हेटौंडा ११, थानाभर्याङमा काठमाडौंबाट हेटौंडा हुँदै भारतको दिल्ली जान लागेको ना.६ख ७१६३ नम्बरको यात्रुवाहक बस जाँच गर्दा दुई करोड ७१ लाख २१ हजार ७८० रुपैयाँबराबरको भेपसहित उनीहरुलाई पक्राउ गरेको हो ।
प्रहरीले शुक्रबार पत्रकार सम्मेलन गर्दै भन्सार छलेर अवैध रुपमा भेप ओसारपसारमा सलग्न दोलखा भीमश्वेर नगरपालिका २ का ३७ वर्षीय बसचालक सलाम मोक्तान, कटारी नगरपालिका ११ उदयपुरका २७ वर्षीय प्रविन्द्र राना, दुप्चेश्वर गाउँपालिका नुवाकोटका ३९ वर्षीय इन्द्रबहादुर दर्जी र ३० वर्षीय सन्तोष भुषाल, धनकुटा बेलार नगरपालिका १६ का २९ वर्षीय राजकुमार हिमाङलाई सार्वजनिक गरेको हो ।
बस र बरामद भेप आवश्यक अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक सीताराम रिजालले जानकारी दिए ।
