काठमाडौं । इलाम प्रहरीले कुकुरको बच्चालाई कुट्दै जिउँदै खाल्डोमा पुरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ । पशु कल्याण संघ काठमाडौंले दिएको जाहेरीको आधारमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
।
पक्राउ पर्नेहरूमा देउमाई नगरपालिका-९ जितपुर बस्ने बर्ष २१ को दिक्षान्त मोरोहाङ लिम्बु, सोही स्थान बस्ने बर्ष १७ को संगम लिम्बु र सोही स्थान बस्ने बर्ष १७ को अशोक लिम्बु रहेका छन् ।
उनीहरुलाई इलामको देउमाई नगरपालिकाको जितपुरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
भिडियो बनाउने हेतुले ती युवकहरुले कुकुरको बच्चालाई तड्पाई–तड्पाई हत्या गरेको भिडियो भाइरल भएको थियो । सुगम मोराहाङ लिम्बू नामको फेसबुक एकाउन्टमा उक्त भिडियो पोस्ट भएको थियो, जुन अहिले हटाइएको छ ।
‘भिडिओमा कुकुरको बच्चालाई क्रूरतापूर्वक मारेको देखिन्छ,’ इलाम प्रहरीले जनाएको छ । संघले काठमाडौंबाट प्रतिनिधि पठाएर जिल्ला प्रहरी कार्यालय इलाममा उजुरी दर्ता गराएको थियो ।
नेपालको प्रचलित कानुनले कुनैपनि पशुप्राणीलाई निर्दयी व्यवहार गर्न, क्रुरतापूर्वक हत्या गर्न बन्देज गरेको छ । यस्ता कृत्य गर्नेलाई तीन महिनासम्म कैद र पाँच हजार रुपैयाँसम्म जरिवाना हुनसक्ने प्रावधान छ ।
