काठमाडौ । अध्ययनका लागि जापान पुगेकी एक युवती साथीको पासपोर्ट चोरेर नेपाल फर्किएपछि प्रहरीले पक्राउ गरेको छ । नेपालगन्ज घर भएकी मिरा श्रेष्ठ साथीको पासपोर्ट लिएर नेपाल आएकी हुन् ।
पक्राउ परेकी उनलाई प्रहरीले राहदानीसम्बन्धी मुद्दा चलाएको छ । पीडित युवतीका आफन्तले दिएको जाहेरीका आधारमा प्रहरीले उनलाई पक्राउ गरी मुद्दा चलाएको हो । अदालतले मुद्दा दायर गरेलगत्तै फैसला गरेको छ ।
राहदानीसम्बन्धी कसुर मुद्दामा उनलाई २० दिन कैद र दुई लाख पाँच हजार जरिवानाको फैसला भएको नयाँ बानेश्वर वृत्तका प्रहरी नायब उपरीक्षक (डिएसपी) शिवराज बुढाथोकीले बताए ।
श्रेष्ठले अर्काको पासपोर्ट प्रयोग गर्दा पनि जापान र नेपाल दुवै देशका अध्यागमनले पत्ता लगाउन सकेकन् । उनी सहजै दुवै विमानस्थलबाट पास भएकी थिइन् ।
नेपाल आएपछि उनी बुद्धनगरस्थित साथीको डेरामा बसेकोमा त्यहीँबाट प्रहरीले पक्राउ गरेको हो । नेपाल आएपछि उनले पासपोर्ट च्यातेकी थिइन् ।